Nepali Congress with CPN UMLकाठमाडौ। नेपालमा दोस्रो चरणअन्तर्गत भएको स्थानीय निर्वाचनमा हालसम्म ३१६ स्थानीय तहको मतपरिणाम घोषणा भएको छ। सो निर्वाचन असार १४ गते तीनवटा प्रदेशअन्तर्गत ३५ जिल्लाका ३३४ स्थानीय तहका लागि मतदान भएको थियो । निर्वाचन आयोगमा रहेको संयुक्त निर्वाचन परिचालन केन्द्र (जेइओसी)का अनुसार हालसम्म २८ जिल्लाका सबै स्थानीय तहको मतगणना कार्य पूरा भएको छ।

अहिले सात जिल्लाका १८ स्थानीय तहमा मतगणना जारी रहेको छ । झापाका ६ स्थानीय तह, मोरङका तीन, सुनसरी दुई, उदयपुर दुई, रुपन्देही दुई, कञ्चनपुर दुई र कैलालीको एक स्थानीय तहमा मतगणना कार्य जारी रहेको छ। पछिल्लो समय कुनै पनि स्थानीय तहको मतगणना कार्य स्थगित नरहेको केन्द्रले जनाएको छ ।

आज विहीवार बिहान ८ः३० बजेसम्मको मतगणनाअनुसार नेकपा एमाले १४१, नेपाली काँग्रेस ११७, नेकपा माओवादी केन्द्र ३७, सङ्घीय समाजवादी फोरम सात, नेपाल लोकतान्त्रिक फोरम छ, राप्रपा चार, राष्ट्रिय जनमोर्चा दुई र स्वतन्त्र उम्मेदवार दुई स्थानमा स्थानीय तहको प्रमुख/अध्यक्ष पदमा निर्वाचित भएको आयोगले जनाएको छ।

दोश्रो चरणको स्थानीय तहको निर्वाचनमा पहिलो चरणको निर्वाचनमा जस्तै नेकपा एमालेले अग्रता कायमै गरेको छ। नेकपा एमाले यो निर्वाचनमा पनि पहिलो पार्टी हुने निश्चित जस्तो बनिसकेको छ।
प्रकाशन मिति–२०७४ साल असार २२ गते विहीवार ।