Charch Of Nepalकाठमाडौ। राष्ट्रिय ख्रीस्टियन महासङ्घ नेपालले महासङ्घका कार्यालय सचिव सन्तोष खड्कामाथि ललितपुरमा गोली प्रहार गर्नेलाई कारबाही गर्न माग गरेको छ।

ललितपुरमा आयोजित पत्रकार सम्मेलनमा महासङ्घका अध्यक्ष सिबी गहतराजले गोली प्रहारको घटनामा राज्य र प्रहरी प्रशासनले कुनै चासो नदिएको तथा मानवअधिकारवादी मुखमा बुझो राखी चुपचाप बसेका भनी असन्तुष्टि व्यक्त गर्दै सरकारले बेवास्ता गरे देशव्यापी आन्दोलन गर्ने चेतावनी दिएका छन्।

गहतराजले मानवअधिकारवादीले अपराधी पत्ता लगाउन तथा कारबाहीको दायरामा ल्याउन दबाब नदिएमा आयोगको कार्यालयमा धर्ना दिइने पनि बताए। ललितपुर मानभवनस्थित महासङ्घको कार्यालयबाट घरतर्फ जाँदै गरेका अवस्थामा खड्कामाथि यही वैशाख ३ गते साँझ अज्ञात समूहले गोली प्रहार गरेको थियो।

गोली प्रहारवाट खड्काको अवस्था गम्भीर रहेको महासङ्घले जनाएको छ । यही वैशाख ५ गते नेपाल क्याथोलिक सम्प्रदायको ललितपुरको धोबीघाटस्थित चर्च परिसरमा एउटा गाडी र दुई मोटरसाइकलमा आगो लगाई क्षति पुर्याइएको जानकारी पनि महासङ्घले दिएको छ।

देशभरका मण्डली तथा ख्रीस्टियन र ख्रीस्टियन समुदायको सुरक्षाको सुनिश्चितता गर्न सरकारसँग विज्ञप्तिमार्फत माग गरिएको छ।
प्रकाशन मिति–२०७४ साल बैशाख ६ गते बुधवार ।