काठमाडौ। महानगरीय अपराध महाशाखाले पटक–पटक फेसबुकमार्फत रु ५२ लाख ठगी गर्नेलाई पक्राउ गरेको छ । राससका अनुसार, महाशाखाबाट खटिएको टोलीले फेसबुकमार्फत सम्पर्क बढाई रु २१ लाख ठगी गर्ने सिन्धुपाल्चोकका तुलबहादुर तामाङलाई आइतबार सिन्धुपाल्चोकबाट पक्राउ गरी विहीवार काठमाडौँमा सार्वजनिक गरेको हो।

तामाङले संखुवासभाकी मनकला गुरुङसँग फेसबुकमार्फत सम्पर्क बढाई विवाहसमेत गरेको भनी मनकलाको नातेदार राजेश गुरुङ र कैलाश गुरुङलाई युएस आर्मीमा जागिर लगाइदिन्छु भनी रु २१ लाख ठगी गरेका थिए। तामाङले यसअघि फेसबुकमार्फत साथी बनाई लेबनानमा रहेकी सिन्धुपाल्चोककी सिर्जना दोङसँग (डिपेन्डेन्ट भिसा) आश्रित प्रवेशाज्ञामा अमेरिका लैजाने भनी रु नौ लाख, सञ्जय दोङ, मिम लामा र कुशुम लामालाई क्यानडा लैजाने भनी रु २२ लाख ठगी गरेका थिए।

तामाङले उक्त ठगी मुद्दामा विसं २०७३ साउन महिनामा पक्राउ गरी कारबाही भएकामा केही समय थुनामा बसी धरौटीमा छुटेपश्चात् पुनःठगी धन्दा शुरु गरेको अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ।
प्रकाशन मिति–२०७४ साल मंसीर २८ गते विहीवार ।