Bharatpur Metropolitan City Ward No. 19

काठमाडौ। सर्वाधिक चर्चा तथा विवादमा परेको भरतपुर महानगरपालिका वडा नम्बर–१९ मा शुक्रबार शान्तपूर्वक पुनः निर्वाचन सम्पन्न भएको छ। नेकपा माओवादीले मतपत्र च्यातेपछि उत्पन्न विवादमा सर्वोच्च अदालतले पुनः मतदान गर्न आदेश दिएपछि शुक्रबार मतदान भएको हो।

Chitwan Bharatpur

चितवनमा बिहानैदेखि परेको झरीका बाबजुद् पनि भरतपुर महानगरपालिका वडा नम्बर–१९ मा शान्तिपूर्णरुपमा निर्वाचन सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ । सुरक्षाको दृष्टिकोणले अति संवेदनशील मानिएपनि कुनै चुनौती नआएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टको भनाई रहेको छ। शारदानगर मावि, किरणगन्ज गुरुङ मावि र जीवनज्योती प्रावि गरी तीनओटा मतदानस्थलवाट मतदाताहरुले मतदान गरेका थिए।

मतदानस्थलमा देखिएकी नेपाली कांग्रेस–माओवादी केन्द्र गठबन्धनकी प्रमुख पदका उम्मेदवार रेणु दाहाल र नेकपा एमालेका उम्मेदवार देवी ज्ञवाली दुवैले आफ्नो जित सुनिश्चित भएको दाबी गरेका छन् । भरतपुर महानगरको प्रमुखमा दाहाल र ज्ञवालीबीच प्रतिस्पर्धा रहेको छ।

वडा नम्बर–१९ मा कुल ३ हजार ७९७ मत रहेकोमा २ हजार ८७० अर्थात् ७५.५८ प्रतिशत मत खसेको प्रमुख निर्वाचन अधिकृतको कार्यालयले भनेको छ। यसअघि, पहिलो चरणअन्तर्गत् वैशाख ३१ गते भएको स्थानीय तह निर्वाचनमा यस वडामा २ हजार ८९७ मत खसेको थियो।

गत जेठ १४ गते मध्यरातमा भरतपुर–१९ को मतगणनाकाक्रममा माओवादी केन्द्रका प्रतिनिधिले मतपत्र च्यातेपछि विवाद सुरु भएको थियो। निर्वाचन आयोगले पुनः मतदान गर्ने निर्णय गरेको भोलिपल्टै एमालेका प्रतिनिधिले सर्वोच्चमा रिट दायर गरेपछि भरतपुर प्रकरण लम्बिएको थियो। राजनीतिक दलहरुबीच सहमति जुटाएर मतगणना अघि बढाइने भनिएको छ। २९ ओटा वडामध्ये २० नम्बर वडाको पनि मतगणना बाँकी छ।
प्रकाशन मिति–२०७४ साल साउन २० गते शुक्रबार ।