Sansad Bhawan of Nepalकाठमाडौ। नेपालको व्यवस्थापिका संसद शनिवार पनि चालु भएको छ। शनिवार अधिकाँस सांसदहरुले शुन्य समयको उपयोग गर्दै विभिन्न समसामयिक विषयमा कुरा उठाएर नेपाल सरकारको ध्यानाकर्षण गर्ने कार्य भएको राससले जनाएको छ। राससका अनुसार सांसद कृपाराम रानाले कन्चनपुरमा हत्या–हिंसाका घटना बढेको बताएका छन्। सांसद कृष्णभक्त पोखरेलले भने सुकुम्बासी समस्या समाधान सदाका निम्ति गर्नुपर्नेमा जोड दिए।

सांसद गणेशसिंह ठगुन्नाले तिंकर नाका सन्चालन गर्न सरकारसँग माग गरे। सांसद गुरुप्रसाद बुर्लाकोटीले धादिङ जिल्ला अस्पतालको स्तरोन्नतिका निम्ति ध्यानाकर्षण गराए। सांसद गौरीशंकर चौधरीले मुक्तकमैयाको पुनःस्थापना पूर्णरुपमा नभएको र पुनःस्थापना भएकाले पनि जग्गाधनी प्रमाणपत्र नपाएको गुनासो गरे। नेपाली कांग्रेसका प्रमुख सचेतक चीनकाजी श्रेष्ठले त्रिवि शिक्षण अस्पतालमा सार्वजनिक बिदाका दिन पनि कर्मचारीको व्यवस्था हुनुपर्ने माग गरे।

सांसद जमिन्द्रमान घलेले शून्य समय र विशेष समयमा उठाइएका विषय राज्यबाट सम्बोधन हुने व्यवस्थाका लागि सभामुखबाट विशेष प्रयास हुनुपर्नेमा जोड दिए। सांसद चूडामणि विकले पोखराका जनताले स्वच्छ पेयजल नपाएकाले ध्यान दिइनुपर्ने बताए। सांसद जेबी टुहुरेले संसदको आफ्नै भवन कहिले निर्माण हुन्छ, त्यसको जवाफ तत्काल राज्यले दिनुपर्ने माग गरे। सांसद टीकाराम चेम्जोङले धनकुटा जिल्ला अस्पतालको स्तरबृद्धि नहुँदा धनकुटाबासीले सहजरुपमा स्वास्थ्यसेवा प्राप्त गर्न नसकेको बताए।

सांसद डिल्ली काफ्लेले उमावि शिक्षालाई निःशुल्क गर्न माग गरे। सांसद तुलसा रानाले ‘बिजुलीको महसुल बढाएर जनताको ढाड सेक्न पाइँदैन’–भनिन् ।बैठकको प्रारम्भमा सभामुखसँग समय लिएर आन्दोलनरत् मधेसी दलका तर्फबाट सांसद उषा यादवले वार्ताको वातारण बनाउने चेस्टा सरकारबाट नभएको आरोप लगाउँदै संविधान पुनःलेखनको माग गरिन्। संघीय गठबन्धनका २६ बुँदे माग पूरा नभए कडारुपमा प्रस्तुत् हुने चेतावनी दिँदै उनले आजको बैठकको कारबाही गठबन्धनसम्बद्ध आठ दलले बहिस्कार गर्ने बताइन्।
प्रकाशन मिति–२०७३ साल असार २५ गते शनिवार ।