काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीलाई मिर्गौला दान दिएर नयाँ जीवन दिने मिर्गौलादाता समीक्षा संग्रौला अस्पतालबाट डिस्चार्ज भएकी छन् । काठमाडौंको महाराजगञ्जस्थित त्रिविवि शिक्षण अस्पतालबाट प्रधानमन्त्री ओलीको मिर्गौला दाता संग्रौला बुधवार डिस्चार्ज भएकी हुन।

डिस्चार्ज हुनुअघि बुधबारै दिउसो ३ बजे संग्रौलाले ‘लिभर आईसीयू’ मा गएर ओलीलाई भेटेकी थिइन् । भेटमा समीक्षाले प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाबारे जिज्ञासा राखेकी थिइन। जवाफमा प्रधानमन्त्री ओलीले आफ्‍नो स्वास्थ्य अवस्थामा सुधार भइरहेको बताएका थिए।

गत फागुन २१ गते त्रिवि शिक्षण अस्पतालमा प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण गरिएको थियो। मिर्गौला दान दिने समीक्षा संग्रौला प्रधानमन्त्री ओलीको नातामा भाञ्जी हुन।
प्रकाशन मिति–२०७६ साल फागुन २८ गते बुधवार ।