
काठमाडौ। काठमाडौं महानगरपालिकाको मेयर पदका उम्मेदवार पवित्र बज्राचार्यले काठमाडौंलाई बस्न लायकको विश्वकै उदाहरणीय शहर बनाउने एक मात्र आफ्नो उद्देश्य भएको बताएका छन्।
काठमाडौंको नयाँ बजार खुशिबुँ लिंकरोड स्थित नेपा ब्याँकक्विटमा सम्पन्न संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टी नेपालको संयुक्त घोषणापत्र सार्वजनिक कार्यक्रममा बोल्दै दुबै पार्टीका तर्फबाट काठमाडौं महानगरपालिकाको मेयर पदका साझा उम्मेदवार बज्राचार्यले उक्त जिकिर गरेका हुन्।
मेयर बनेपछि फोहरको उचित व्यवस्थापन, ढल, पानीको समस्याको समाधान, सडक, सडक वत्ती, पार्किङको व्यवस्थापनको साथमा महानगरमा शिक्षाको गुणस्तर बृद्धि लगायत काठमाडौंवासीहरुको स्वास्थ्य नै आफ्नो पहिलो प्राथमिकता हुने बज्राचार्यले स्पष्ट भनेका छन्।
प्रत्येक वडामा स्वास्थ्य चौकीको स्थापना गर्ने पनि आफ्नो योजना रहेको बताउंदै बज्राचार्यले आफु २३ वडाको वडाध्यक्ष रहँदा साथै सभासद् तथा काठमाडौं महानगरपालिकाको कार्यवाहक मेयर रहँदा आफुले निकै उपलब्धीमूलक कामहरुको थालनी गरेको स्मरण गर्दै ती कामहरुलाई फेरि बद्लिंदो परिवेश अनुसार समयसापेक्ष ढंगले निरन्तर गर्ने बज्राचार्यले प्रतिबद्धता व्यक्त गरेका छन्।
दुबै पार्टीका तर्फबाट उपमेयरका साझा उम्मेदवार नयाँ शक्ति पार्टीका सविना अर्यालले विकासका लागि काठमाडौं आफैं सक्षम भएको र यहाँ व्यवस्थापनको मात्र कमी रहेको बताइन् । कार्यक्रममा संघीय समाजवादी फोरम नेपालका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले वर्तमान परिप्रेक्षमा राजनैतीक क्षेत्रमा अस्वस्थ अभ्यास शुरु भएको बताउँदै देश र नगरको विकासको लागि सबै निस्वार्थ भावनाले अघि बढ्नुपर्ने बताए।
कार्यक्रममा मेयरका उम्मेदवार बज्राचार्य, उपमेयरका उम्मेदवार अर्यालका साथै संघीय समाजवादी फोरम नेपालका सहअध्यक्ष श्रेष्ठ, नयाँ शक्तिका नेता परशुराम तामाङको साथम नयाँ शक्तिकै नेतृ हिसिला यमीले दुबै पार्टीको संयुक्त घोषणा पत्र संयुक्त रुपमै सार्वजनिक गरेका थिए।
स्थानीय चुनावमा एउटा हातमा मसाल बोकेको चुनाव चिन्ह सहित संघीय समाजवादि फोरम नेपाल र नयाँ शक्ति पार्टी नेपालको संयुक्त प्यानल चुनावी मैदानमा रहेको छ ।