–निशान बुढाथोकी
काठमाडौं। सामान्यतया मानिसहरुको आफ्नै स्वभाव र बानी हुन्छन् । सबै मानिसहरुलाई यो कौतुहलता हुन्छ कि आफू जन्मेको महिना कस्तो हुन्छ अथवा आफ्नो राशी अनुसार आफ्नो भाग्य कस्तो हुन्छ ! हुन त सबै कुरा राशी र भाग्यमा विश्वास गर्न पनि हुँदैन । कर्म गर्दै जानु पर्छ । फलको आशा गर्नु हुँदैन भन्ने मान्यता राख्नु पर्छ ।

१२ महिनालाई ६ वटा ऋतुमा विभाजन गरिएको छ । चैत बैशाख बसन्त, जेठ असार ग्रिष्म, साउन भाद्र वर्षा,असोज कात्तिक शरद, मंसिर पुष हेमन्त र माघ फागुन शिसिर ऋतु । यी ऋतुहरुको पनि आफ्नेै महत्व हुन्छन् । महिना त्यसमा पनि ६ वटा ऋतुहरु अन्तर्गत कुन कुन ऋतुमा जन्मिदा के के हुन्छ मानिसको स्वभाव कस्तो हुन्छ जानौं है त !

बैशाख ः यो महिना वर्षहरुको शुरुको महिना हो । बसन्त ऋतुको महिना, फूलै फूलको महिना, हरियालीको महिना हो । यो महिनामा जन्मने मानिस बुद्दिवान, चतुर स्वभावका हुन्छन् । बैशाख महिनामा जन्मिने मानिसहरु खुला हृदय भएका हुन्छन् , धनि पनि हुने गर्दछन् । धैर्यवान हुनुका साथै दुःख पछि सुख अवशय आउँछ भन्ने भावना हुन्छ । आफ्नो जिवन साथीलाई अत्याधिक माया तथा स्नेह गर्ने स्वभाव हुन्छ।

जेठ ःयो वर्षको दोश्रो महिना हो । ग्रिष्म ऋतुमा पर्ने यो महिनामा जन्मिने मानिसहरुको स्वभाव बौद्धिकतका धनि हुन्छन् । सबैलाई समान व्यवहार गर्ने खालका हुन्छन् । यद्यपि जेठ महिनामा जन्मिने मानिसहरुको लामो आयु हुन्छ भन्ने पनि सुनिन्छ। आफ्नो बारेमा केही पनि नसोच्ने खालका हुन्छन् ।

असार ः यो वर्षको तेश्रो महिना हो । ग्रिष्म ऋतु अन्तर्गत नै पर्ने यो महिनामा जन्मिने मानिसहरु भगवानप्रति आस्था राख्ने स्वभावका हुन्छन् । यिनीहरुको जीवनमा दुःख तथा सुख बराबर हुन्छ ।

साउन ः यो वर्षा ऋतुको महिना हो साउन महिना । भगवान शिवको प्रिय महिना पनि मानिन्छ । लाभ हानि बराबर हुन्छ भने धर्मकर्म गर्ने खालका हुन्छन्, कर्म क्षेत्र सफल हुन्छ यी महिनामा जन्मिने मानिसहरुको ।

भाद्रः यो वर्षको पाँचौ महिना अर्थात् वर्षा ऋतुमेै पर्ने महिना हो । घाम पनि अत्याधिक चर्को लाग्ने गर्छ । यो महिनामा जन्मिने मानिसहरु कर्म गर्न चाहने खालका हुन्छन् । जीवनको पूर्वाद्धमा अत्याधिक दुःख गर्ने त्यसपछि उत्तरार्धमा सुख पाउने हुन्छन् । यद्यपि जस भने नपाउने खालका हुन्छन् । यो महिनामा जन्मिने मानिसहरु भाग्यमा भन्दा कर्ममा विश्वास गर्ने खालका हुन्छन् ।

असोजः शरद ऋतुमा पर्ने यो महिना न जाडो न घाम रमाइलो महिना अन्तर्गत
पर्छ। महिना जति सुन्दर यो महिनामा जन्मिने मानिस पनि त्यत्तिकै सुन्दर हुन्छन् । गुणवान हुनुका साथै सहनसिल पनि हुन्छन् ।

कात्तिक ःयो महिना पनि शरद ऋतु अन्तर्गत नै पर्छ । चाडवाडको महिना मौसम पनि त्यत्तिकै रमाइलो हुन्छ। यो महिनामा जन्मिने मानिस बुद्धिवान हुन्छन् । साथी भाइ र आफन्त लाई दिलोज्यानले सहयोग गर्ने खालका हुन्छन्, जसलाई धेरै विश्वास ग-यो उसैले विश्वास घात गर्ने हुन्छन् । तरपनि, सहयोग गर्न भने छोड्दैनन् ।

मंसिर ः हेमन्त ऋतु अन्तर्गत पर्ने यो महिनामा अन्न भण्डारण गर्ने महिनाको रुपमा पनि लिइन्छ । यो महिनामा जन्मिने मानिसहरु एक किसिमले भाग्यमानि हुन्छन् भन्ने मान्यता पनि छ । रुपवान, गुणवान र चातुर स्वभावका हुन्छन् ।

पौष ःवर्षको नवौ महिनाको रुपमा चिनिने यो महिना पनि हेमन्त ऋतु अन्तर्गत
नै पर्दछ । वर्षको निकै छोटो महिनाको रुपमा चिनिने पौष महिनामा जन्मिएका मानिसहरु उदार हुनुका साथै धर्मप्रति आस्था राख्ने स्वभावका हुन्छन् ।

माघ ः यो महिना शिशिर ऋतु अन्तर्गत पर्ने महिना हो । रुखका पातहरु झरेर उजाड हुने गर्छ । यो महिनामा जन्मिने मानिसहरु चाहिने भन्दा बढी चतुर हुने गर्दछन्। अरुलाई बसमा पारेर आफ्नो काम सजिलै बनाउन सक्ने यिनीहरुको खुबी हुन्छ। झूठ बोलेरै काम गरे पनि कसैले पत्तो पाउन नसक्ने स्वाभाव हुन्छ यो महिनामा जन्मिने मानिसको हुन्छ । आफ्नो गल्ति कसैले औल्याइदिए पनि मान्न तयार हुँदैनन् ।

फागुनः यो महिना शिशिर ऋतु अन्तर्गत पर्ने महिना हो, यो महिनामा जन्मिने मानिस शालीन, रुपवान, गुनवान र चतुर हुन्छन, साथै विभिन्न ठाउमा घुम्न मन पराउने स्वभाबका हुन्छन, यिनीहरुको जीवनमा सुरुमा केहि कठिनाई आए पनि बाँकी समय भने सहज र सरल हुन्छ ।

चैत ःयो वर्षको अन्तिम महिना हो । बसन्त ऋतु अन्तर्गत पर्ने यो महिनामा नयाँ पालुवा थपिएर मनमोहक अनि रमाइलो वातावरण देख्न सकिन्छ। यद्यपि दिन भने लामो हुने गर्छ । यो महिनामा जन्मिने मानिसहरु बौद्धिक र चतुर स्वभावका हुनुका साथै रिसाहा स्वभावका पनि हुन्छन् ।

 

(नामी साप्ताहिकवाट साभार)
प्रकाशन मिति–२०७८ साल साउन २६ गते मंगलवार ।