पेशाले पण्डित भएतापनि नेपाली राजनीतिवाट अलग नभएका र राजनीति र पण्डित्याईलाई निरन्तरता दिदैआएका पण्डित उज्ज्वल दुवाडीले नामी साप्ताहिककी निर्देशक निशान बुढाथोकीलाई अन्तरवार्ता दिने क्रममा राजनीतिलाई पेशा बनाएसम्म सफा काम हुनै नसक्ने तर्क राखेका छन्। प्रस्तुत छ–निशान बुढाथोकीले पण्डित उज्ज्वल दुवाडीसंग लिएको अन्तरवार्ताको सारसंक्षेप ।

पण्डित उज्ज्वल दुवाडी यो नाम नसुन्ने शायदै कम होलान् नागार्जुृन नगरपालिकामा, विशेष गरी कुन कुन संघ संस्थामा आबद्ध हुनुहुन्छ ?
–२०५१ सालबाट संञ्जिवनी सेवा संघ वीर अस्पतालको महासचिव, त्यसपछि विश्व हिन्दु महासंघको महासचिव हुँदै अहिले केन्द्रिय सदस्य, अन्तर धार्मिक परिषदको विशेष आमन्त्रित सदस्य छु भने २०५१ सालमा नेपाली कांग्रेसको अधिवेशनमा निर्वाचित सभापति स्युचाटारको तथा २०५४ सालमा वडा अध्यक्ष भएको थिए । मैले गर्ने काम भनेको कर्मकाण्ड, चिना टिपन, भागवत, कथा पुराण, शिव पुराण, हरिवंश पुराण, सप्ताह वाचन देखि धर्मसंग सम्बन्धित सम्पूर्ण कामहरु गर्छु । भागवतको उद्गम स्थल भारतको नैनीसारङगी क्षेत्रमा समेत भागवत वाचन गरिसकेको छु ।

 विश्व हिन्दु महासंघको केन्द्रिय सदस्य पनि भन्नुभयो, खासमा यो संस्थाको काम के के हुन् ?
–म २०५८ सालदेखि आबद्ध रहेको यो विश्व हिन्दु महासंघको काम भनेको नेपालमा छरिएर रहेका सम्पूर्ण हिन्दुहरुलाई एक बनाएर, सबैलाई धर्मबाट नै समाजको उत्थान हुने र धर्मबाट नै नैतिकताको शिक्षा प्राप्त हुने तथा धर्मबाट नै समाज निर्माण हुने हुँदा धर्ममा सबै हिन्दुहरुलाई आबद्ध गराएर नेपाललाई समुन्नत बनाउने हाम्रो उद्धेश्य हो। सम्पूर्ण हिन्दुहरुलाई प्राथमिकता दिएर हिन्दु धर्मको प्रचार प्रसार गर्न यो संस्थाको निर्माण भएको हो ।

यहाँ संञ्जिवनी सेवा संघ वीर अस्पतालको महासचिव पनि हुनुहुन्छ, यसले के के कामहरु गर्छ ?
–संञ्जिवनी सेवा संघ भनेको वीर अस्पतालभित्र रहेको तर, अस्पतालाट अलग रहेर एउटा नितान्त स्वार्थ रहित सामाजिक संस्था हो । यसले गरिब तथा विपन्न बिरामीहरुका लागि निःशुल्क उपचारका साथै त्यहाँ औषधि नपाएर तड्पनिु भएका मानिसहरुका लागि सहयोग गर्ने, रगतको कमी हुन नदिने तथा घर फर्किन नपाएका जो बिरामीहरु छन् उनीहरुलाई बाटो खर्च दिने गर्छ। लक्षित वर्ग जो विपन्न वर्गहरु छन् उनीहरुले सेवा नपाएको भन्ने कुरा बेला बेलामा सुनिए पनि त्यस्ता व्यक्तिहरु जो संस्थासम्म आइपुगेका छन् भने उनीहरुलाई खोजी खोजी सुविधा दिने गरेको छ ।

 अन्तरधार्मिक परिषदकोविशेष आमन्त्रिण सदस्यको हैसियतले यहाँले गर्ने कामहरु के के हुन् ?
–वास्ववमा भन्ने हो भने यो अन्तर धार्मिक परिषद भनेको नाम बाटै पनि स्पष्ट हुन्छ कि यस परिषद भित्र सम्पूर्ण हिन्दु, बौद्ध, मुस्लिम, शिख, ईशाई सबैलाई जोड्ने र धर्म भनेको सबैको कल्याण गर्ने संस्था हो । एक आपसमा आपसी भाईचाराको सम्बन्ध स्थापित गरी सबै धर्महरु एकै हुन् भनेर धर्म धर्मलाई मिलाएर आपसी सद्भाव गराउने संस्था हो । हुन त आजभोलि धर्मको नाममा विभिन्न किसिमका युद्धहरु भएका छन्, त्यो अत्यन्त गलत हो । सबै धर्मको आशय एकै हो र एउटा धर्मले अर्को धर्मलाई होचयाउने र हेप्ने होइन एक आपसमा सद्भाव कायम गर्नु नै यस संस्थाको मुख्य उद्धेश्य हो ।

लामो समयदेखि यस क्षेत्रमा आबद्ध हुनुहुन्छ , पहिला र अहिलेको अवस्थामा के फरक पाउनु भएको छ ?
–धेरै परिवर्तनहरु भएका छन् । धेरै परिवर्तन पनि आएका छन् । पहिला धेरै गाह्रो थियो । मनुष्यको आर्थिक अवस्थाको कारण असहज परिस्थिति थियो , यो धार्मिक पेशामा लाग्न मानिसलाई सहज थिएन । अहिलेको अवस्थामा आइसक्दा सजिलो भएको छ । म आफै पनि १४–१५ वर्षको उमेरदेखि यस पेशामा संलग्न भएको कारण धेरै कुरा बुझेको र अनुभव गरेको छु । परिवर्तनलाई सकारात्मक र नकारात्मक दुई किसिमबाट लिन सकिन्छ । सकारात्मक यस अर्थमा कि अवस्था सहज भएको छ । नकारात्मक यो अर्थमा कि धर्मलाई मनोरञ्जनको रुपमा लिइएको छ । धर्म मनोरञ्जनको विषय होइन । धर्म मानिसलाई अनुशासनमा बाँध्ने यन्त्र हो, जीवन दर्शन हो । कथा, पुराण, भागवत भनेको मनुष्यको जिवन दर्शन हो । जब मनुष्य यस संसारमा आउँछ, आएदेखि बाँचुञ्जेल सम्म आफूलाई कसरी व्यवस्थित गर्ने भन्ने कुराहरु तथा मृत्युपछि पनि आत्मालाई कसरी परमात्मामा मिलाउने भन्ने कुरा भागवत पुराणमा उल्लेख छ । त्यसकारण धर्म भनेको कमाउने भाडो र मनोरञ्जनको साधन होइन, यस्तो विकृतिलाई जरैबाट उखेल्नु पर्छ ।

यहाँ त राजनितिज्ञ पनि हुनुहुन्छ , पूर्व वडा अध्यक्षको हैसियतले स्थानिय तह संचालन गरिसक्नु भएको अनुभव बटुलिसक्नु भएको अवस्थामा विकास निर्माणका क्षेत्रमा कस्तो किसिमको फरक पाउनु भएको छ ?
–२०५४ सालमा जब म वडा अध्यक्ष भएँ, त्यति खेर अहिलेको जस्तो अवस्था थिएन । एउटा गाविसमा बजेट जम्मा ५० हजार रुपैयाँ मात्र हुन्थ्यो । एउटा बस्ने कुर्सिसम्म पनि थिएन । अहिलेको जस्तो कर प्रणाली थिएन । त्यति रकमले विकासका काम हुने कुरै भएन । गाविसमा कस्ता खालका कामहरु आउँथे भने सामान्य खालका घर झगडाहरु मात्र आउँथे । अहिलेको अवस्था फरक छ । वडाबाटै सम्पूर्ण कामहरु हुन्छन् । बजेट धेरै छन्, त्यही बजेटबाट विकास निर्माणका कामहरु सम्पन्न गर्न सकिन्छ । विकासका सम्भावनाहरु धेरै छन् । इमानदारिता पूर्वक जो मनुष्य जो राजनितिज्ञ जसले काम गर्छु भन्छ– ऊ सफल हुन्छ ।

राजनितिमा आउने सोच कसरी आयो ?
–वास्तवमा भन्ने हो भने म ब्राम्हण कुलमा जन्मिएको त्यसमा पनि परिवार कर्मकाण्ड नै गर्नु पर्छ भन्ने मान्यता राख्ने भएपनि मलाई राजनितिमा पनि रुचि थियो । मेरो मामा नै मेरो गुरु हुनुहुन्छ धार्मिक कुरामा । राजनितिको कुरा गर्दा २०४६ सालमा जनआन्दोलन भयो । हामी स्कूल पढ्दा नै हामीलाई कस्तो खालको स्कुलिङ गराइएको थियो भने जुन किसिमको आन्दोलन भइरहेको छ, त्यो आन्दोलन भनेको समाज निर्माणको आन्दोलन हो । यस्तो किसिमको आन्दोलन गरिसकेपछि पुस्तौ पुस्ता केही पनि गर्नु पर्दैन । त्यही आन्दोलनबाट मुलुकले कोल्टे फेर्नेछ । बीपी कोइरालाको समाजवाद चिन्तनलाई मनन् गर्दै त्यतैतिर लाग्ने चाहना भयो । सबै आफ्नो आफ्नो एउटा एउटा विचारकको विचारमा लागे , तर अहिले राजनितिमा के भैदियो भने विचारकको विचारलाई मुखले भन्ने तर काम चाँहि नगर्ने प्रवृत्ति बढ्यो ।

स्थानियलाई सन्तुष्ट बनाउन स्थानिय सरकारले कसरी काम गर्नु पर्छ भन्ने लाग्छ ?
मेरो विचारमा स्थानियलाई सन्तुष्ट बनाउन पहिला स्थानिय स्तरमा भएका विभिन्न किसिमका समस्यालाई जनप्रतिनिधिले अवलोकन गर्नुपर्ने हुन्छ । त्यो चाहे व्यक्तिगत होस् या विकास निर्माणका काम नै किन नहुन् । एउटा जनप्रतिनिधि भइसकेपछि उत्तरदायि रुपमा आफ्नो उत्तरदायित्व निभाएर काम ग¥यो भने कुनै पनि किसिमको असन्तुष्ट हुँदै हुँदैन । राजनिति गर्ने मान्छेले राजनितिलाई पेशाको रुपमा नभई सेवाको रुपमा हेर्नु पर्छ । राजनिति जब पेशाको रुपमा आउँछ त्यहाँ लाभ र हानीको कुरा आउँछ । निस्वार्थ भावले समाज सेवा ग-यो भने अप्ठ्यारो परिस्थिति आउँदैन । जहिलेसम्म राजनितिलाई पेशाको रुपमा लिइन्छ , तब सम्म त्यहाँ सफा काम हुन सक्दैन।

राजनिति गरेर वा धर्म संस्कृतिमा संलग्न रहेर पनि समाजसेवा नै हो माध्यम मात्र फरक हो , वास्तवमा कुन माध्यमबाट समाजसेवा गर्दा आफूलाई आनन्द अनुभूति हुन्छ ?
–वास्तवमा भन्ने हो भने राजनिति र धर्म संस्कृति यी दुवेै मानिसको जीवनमा अपरिहार्य छन् । राजनितिमा नआएसम्म पोष्ट पावर आउँन सक्दैन । पावर नभएसम्म समाज सेवा गर्न सकिदैन भन्ने मान्यता स्थापित भइसकेको अवस्था छ । अर्को धार्मिक कुरा भनेको, राजनितिमा धार्मिक मनुष्यहरु आउँछन् नि त्यतिखेर राजनिति फोहोरी हुनै सक्दैन । यहाँ के भयो भने राजनितिमा धर्म हुनुपर्नेमा धर्ममा राजनिति भयो । दुवैलाई संग संगै लिएर गयो भने समाज सेवा हुन सक्छ । धार्मिक कुरा अझ फरक छ । यसको बयान त गर्नै सकिदैन । आत्मिक आनन्दको बयान कसरी गर्नु यसलाई महसुस मात्र गर्न सकिन्छ । राजनिति समाजको सेवा गर्दै समाज परिवर्तन गर्ने कुरा हो ने धार्मिक कुरा भनेको आफूलाई परिवर्तन गर्दै समाज सुधार्ने कुरा हो ।

विद्यार्थी जीवनदेखि सक्रिय रुपमा संलग्न भएर वडा अध्यक्ष समेत रहिसक्नु भएको एउटा सक्षम राजनितिज्ञ अहिले निष्क्रिय भएको हो त ?
–खासमा म निष्क्रिय त भएको छैन । मानिस एउटा सामाजिक संगसंगै राजनितिक पनि हो भन्दा फरक नपर्ला । त्यसकारण एउटा मानिस सामाजिक हुन्छ भने ऊ राजनितिक पनि अवश्य हुन्छ । जतिसुकै राजनितिकबाट टाढा छु भने पनि राजनितिक हुन्छ नै । म सक्रिय नै छु ।

यहाँको भावी योजनाहरु के के छन् ?
–धार्मिक गतिविधिबाट होस् या राजनितिबाट मैले समाजको सेवा गरी समाज परिवर्तन गर्ने हो । स्वदेशमा मात्र नभई अन्तर्राष्ट्रिय जगतमा धर्म र संस्कृतिको माध्यमबाट देशलाई चिनाउने मेरो योजना छ । राजनितिको कुरा गर्दाराजनिति गर्ने राजनितिकर्मीहरुको लागि जहिले पनि सम्भावनाका ढोकाहरु सदा सर्वदा खुला नै हुन्छ। आगामी दिनमा पार्टीले जस्तो खालको जिम्मेवारी दिन्छ त्यही अनुसारको जिम्मेवारी इमानदारिताका साथ पुरा गर्छु ।

(नामी साप्ताहिकवाट साभार)
प्रकाशन मिति–२०७८ साल साउन २९ गते शुक्रवार ।