काठमाडौ। काठमाडौको जाडो छल्नका लागि पश्चिम नेपालमा रहेका पूर्वराजा ज्ञानेन्द्र शाहले शुक्रबार दाङ पुगेका छन्। दाङमा ज्ञानेन्द्रले दुई धार्मिक स्थलको दर्शन पूजा संगै सर्वसाधारणसग भेट गरेका छन्। ज्ञानेन्द्रले दाङमा सधै आइरहने वातावरण निर्माण हुने अपेक्षा गदै यसैगरी जनतासँग भेट भइरहने अपेक्षा पनि गरेको सुनाए।
![](https://www.visionsansar.com/wp-content/uploads/2018/01/Gyanendra-1.jpg)
स्वागतमा रहेका नागरिक र पत्रकारलाई संक्षिप्त प्रतिक्रिया दिँदै पूर्वराजाले यस्तो बताएका हुन्। ज्ञानेन्द्रले दाङमा आएर दंगाली जनतासँग भेट्न पाउँदा, मठ मन्दिरमा पूजापाठ गर्न पाउँदा खुसी लागेको भन्दै फेरि पनि दाङ आउने र यसै गरि भेट गर्ने आफनो इच्छा रहेको बताए। उनले यस पटक यो अवसर उपलब्ध गराउने आयोजक एवं दंगालीलाई धन्यवाद समेत दिए।
सडकमा स्वागत गर्न बसेका शुभचिन्तकसँग हासेर मात्रै हिडेका पूर्वराजालाई सर्मथकले भने ‘राजा आऊ देश बचाऊ, राम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ’ भन्ने जस्ता नारा लगाएका थिए। दिउँसो १ बजे दाङ पुगेका पूर्वराजा शाहलाई लमही र घोराहीमा विभिन्न स्थानमा भव्य स्वागत गरिएको थियो।
पूर्वराजा शाहले जिल्लाका दुई वटा धार्मिक स्थलमा पूजापाठ समेत गरेका छन्। घोराही उपमहानगरपालिका वडा नम्बर १८ मा रहेको अम्बिकेश्वरी मन्दिर र घोराही उपमहानगरपालिका १७ मा रहेको गोरक्ष रत्ननाथ मठको दर्शन गर्दै पूजापाठ गरेका हुन्।
पूर्वराजा शाहको स्वागतका लागि समर्थक एवं शुभचिन्तकको बाक्लो उपस्थिति रहेको थियो। शाह शुक्रबार नै नेपालगञ्ज फर्किएका छन्।
प्रकाशन मिति–२०७४ साल पुष २१ गते शुक्रबार ।