झापा। पूर्वीनेपालको काँकरभिट्टा नाका हुँदै नेपाल भित्रिने भारतीय माछाको आयात घट्दै गएको छ। पछिल्लो पाँच वर्षयता भारतबाट आउने माछाको आयात क्रमशः घट्दै गएको एनिमल क्वारेन्टाइन कार्यालय काँकरभिट्टाले जनाएको छ।

क्वारेन्टाइन कार्यालय काँकरभिट्टाका अनुसार चालू आर्थिक वर्ष २०७४/७५ को ११ महिनाको अवधिमा काँकरभिट्टा नाकाबाट एक हजार ४ सय १० मेट्रिक टन माछा आयात भएको छ। यो अघिल्लो आवको तुलनामा ७९ मेट्रिक टन कम हो। आव २०७३÷७४ मा एक हजार ६ सय ७५ मेट्रिक टन माछा आयात भएको थियो।

त्यस्तै, आव २०७०/७१ मा भारतबाट २ हजार ८० मेट्रिक टन, २०७१/७२ मा दुई हजार १०९ मेट्रिक टन, २०७२/७३ मा एक हजार ७३६ मेट्रिक टन माछा भारतबाट आएको कार्यालयको तथ्याँक छ। पाँच वर्षयता माछा आयातमा ६० प्रतिशतले कमी आएको छ।

पछिल्लो समय नेपालमा माछाको व्यावसायिक उत्पादन हुन थालेपछि भारतलगायत तेस्रो मुलुकबाट आयात हुँदै माछाको परिमाणमा कमी आएको हो। काँकरभिट्टा नाका हुँदै आयात हुने माछा झापा, इलाम, ताप्लेजुङ, पाँचथर लगायतका जिल्लामा खपत हुने गरेका छन्।
प्रकाशन मिति–२०७५ साल असार ९ गते शनिवार ।