बेलायती राजनीतिमा क्रमिक रुपमा अव नेपालीहरुको पनि पकड

0 minutes, 0 seconds Read

लण्डन। बेलायतको राजनीतिमा पनि नेपालीहरुको पडक अब क्रमिक रुपमा हुन थालेको छ। बेलायतको स्थानीय निर्वाचनमा नेपालीहरुको उम्मेदवारी तथा उनीहरु विजयी पनि मज्जाले बनेयता बेलायती राजनीतिमा पनि नेपालीहरुको पकड बढेको हो।

गत बिहीबार सम्पन्न स्थानीय निर्वाचनबाट करिब आधा दर्जन नेपालीमूलका उम्मेदवार काउन्सिलर बनेका छन्। नेपालीहरूको उल्लेख्य बसोबास रहेको बेलायतको अल्डरसटमा युवा व्यवसायी प्रवेश केसीले ३ सय २८ मत ल्याएर जितेका छन्। केसीले कन्जरभेटिभ पार्टीका तर्फबाट रसमोर बरोअन्तर्गत अल्डरसट टाउन, वेलिङटन वार्डको काउन्सिलरमा उम्मेदवारी दिएका थिए । उनका प्रतिद्वन्द्वी लेबरका उम्मेदवारले २ सय ८६ र लिब्डेम उम्मेदवारले जम्मा ८५ मत ल्याए । यसअघिउक्त क्षेत्रमा लेबरले जित्दै आएको थियो ।

त्यसैगरी, केन्टको मेडस्टोन बरो काउन्सिलमा लिबरल डेमोक्रयाटस उम्मेदवार दिनेश खडका ८ सय ५२ मतले विजयी भए । उनका प्रतिद्वन्द्वी कन्जरभेटिभका उम्मेदवारले ३ सय ६० र लेबर उम्मेदवारले ३ सय ४६ मत ल्याएका थिए ।

हेमेल हयाम्सटेडअन्तर्गत डेकोरम बरो काउन्सिलको काउन्सिलर पदमा गोवर्धन सिलवाल सागर दोश्रो पटक पनि निर्वाचित बनेका छन्। कन्जरभेटिभ पार्टीबाट तर्फबाट सिलवालले ७ सय २४ मत ल्याए । ललितपुरको गोदावरीका सिलवाल २० वर्षदेखि बेलायतमा छन् ।

नर्थ योर्कसायरको कोलबर्न टाउन काउन्सिलबाट डा. जगन्नाथ शर्मा तेस्रो पटक निर्वाचित भए । कन्जरभेटिभ दलका उनी उक्त काउन्सिलको पूर्वडेपुटी मेयर पनि हुन् । यही मे २० तारिख हुने मेयर निर्वाचनका लागि पनि उनले उम्मेदवारी दिएका छन् ।  केन्टको मिडवेबाट कन्जरभेटिभका टासी तामाङ भुटियाले पनि काउन्सिलर पद जितेका छन् ।

प्रकाशन मिति–२०७६ साल बैशाख २३ गते सोमवार ।

Similar Posts