काठमाडौ। नेपालका मिथिलावासीहरुको महान पर्व छठ पर्वको दोस्रो दिन आज बुधवार खरना मनाउने कार्य भएको छ। आजको दिन गाईको गोबरले घर लितपोत गरी अरबा चामलको पिठोबाट तयार पारिएको झोलनले भूमि सजाएर ब्रतालुले दिनभरी निराहार व्रत बस्ने गर्छन् र राती चन्द्रमालाई खीर चढाई सोही प्रसाद ग्रहण गर्छन्।
![Photo By-Mr.Kabindra Man Shakya](http://www.visionsansar.com/wp-content/uploads/2017/10/Chhathi-Mai.jpg)
छठको मुख्य दिन भोलि अस्ताउँदै गरेको सूर्यलाई अर्घ दिई गहुँ र चामलको पिठोबाट बनेको परिकार चढाउने गरिन्छ भने चौथो तथा अन्तिम दिन उदाउँदै गरेको सूर्य र षष्टी मातालाई अर्घ दिई छठ सम्पन्न गरिन्छ। पारिवारिक सुख, शान्ति, कल्याण, रोगबाट मुक्ति तथा विभिन्न मनोकांक्षा पूरा होस् भन्ने उद्देश्यले सूर्यको उपसना गरी यो पर्व मनाउने गरिन्छ।
महाभारतकालमा द्रौपतिसहित पाण्डवहरुले अज्ञात वासमा रहँदा गुप्तवास सफल होस् भनी सूर्यदेवको आराधना गरेको र सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको कथन छ। छठको अवसरमा जनकपुरका गंगा सागर, धनुष सागरसहितका दर्जनौ पोखरी र वीरगञ्जको घडीअर्वा पोखरीमा पूजा गर्न भक्तजनको विशेष भीड लाग्ने गर्दछ।
काठमाडौंमा रानीपोखरी, कमलपोखरी, वाग्मती किनार, शंखमूललगायतका स्थानमा छठ मनाइन्छ ।
प्रकाशन मिति–२०७४ साल कात्तिक ८ गते बुधवार ।