काठमाडौ। मेलम्ची खानेपानी आयोजनाको सुरुङ्ग मार्ग खन्न अव पाँच किलोमिटरमा मात्र बाँकी रहेको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ। सिन्धुपाल्चोकको हेलम्बु गाविसको अम्बाथानदेखि काठमाडौको सुन्दरीजलसम्मको २७.५ किलोमिटर सुरुङ्गमध्ये हालसम्म २२.५ किलोमिटर निर्माण सम्पन्न भैसकेको छ।
![Melamchi Water Tunnel](http://www.visionsansar.com/wp-content/uploads/2017/01/Melamchi-Water-Tunnel.jpg)
अव बाँकी ५ किलोमिटर सुरुङ्ग पनि आगामी असार–साउन महिनासम्म संपन्न भएर वि.सं.२०७४ सालको बडादशैंसम्ममा मेलम्चीको खानेपानी काठमाडौमा वितरण गर्ने लक्ष्यका साथ कार्य भैरहेको जानकारी समितिका कार्यकारी निर्देशक घनश्याम भट्टराईले राससलाई जानकारी दिएका छन्।
विभिन्न छ स्थानबाट सुरुङ खन्ने काम भएकामा सिन्धु अडिटदेखि सुन्दरीजलसम्मको ९ किमी सम्पन्न भइसकेको छ । हेलम्बु गाविसको मुहान रहेको अम्बाथानबाट ग्यालथुम अडिट र ग्यालथुमबाट सिन्धु अडिट गरी दुई स्थानको ५ किमि खुल्न बाँकी रहेको छ।
हाल चार स्थानबाट दैनिक २० मिटरका दरले सुरुङ खन्ने काम भइरहेको छ। अम्बाथानबाट खन्न लागिएको सुरुङ मार्गमा कमसल भूभाग निस्केको कारण बढी खन्न नसकिएको हो। कडा चट्टानको बदला ग्राभेल जस्तो कमसल ढुङ्गा निस्केको हँुदा सो भाग सकिएपछि दैनिक २५ मिसम्म खन्न सकिने कार्यकारी निर्देशक भट्टराईले बताए।
त्यसैगरी लार्के र याङ्ग्रीबाट लगिने दोस्रो र तेस्रो चरणको डिजाइनको काम पनि सुरु गरिएको छ। डिजाइनको काम सकिएपछि बजेटको व्यवस्थाका लागि मन्त्रालयमा पेस गरिने र बजेट निकासा भएपछि काम सुरु गरिने भट्टराईले बताए। प्रथम चरणमा दैनिक १७ करोड लिटर तथा दोस्रो र तेस्रोबाट थप ३४ करोड लिटर पानी लगिने आयोजनाको लक्ष्य रहेको छ।
प्रकाशन मिति–२०७३ साल माघ १० गते सोमवार ।