काठमाडौं। सार्क राष्ट्रका राष्ट्र प्रमुख तथा सरकार प्रमुखहरुबीच कोरोना भाइरसको संक्रमणको विरुद्ध संयुक्त रुपमा सामना गर्ने विषयमा छलफल भएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पहलमा आयोजित भिडियो सम्मेलनमा कोरोना संक्रमणबाट यस क्षेत्रका मानिसहरुको सुरक्षा गर्ने तथा आर्थिक क्षेत्रमा पर्ने असर कम गर्ने विषयमा छलफल भएको हो।

सार्क क्षेत्रका आठवटै राष्ट्र सहभागी भिडियो सम्मेलनमा भारतीय प्रधानमन्त्री मोदीले कोरोना भाईरस विरुद्ध लड्नका लागि एउटा साझा कोष स्थापना गर्न प्रस्ताव गरेका छन्। उक्त कोषमा भारतले १ करोड डलर राख्ने भन्दै मोदीले यस्ताखाले अरु समस्याहरुसंग जुध्न पनि कोष काम लाग्ने उल्लेख गरे। मोदीले कोरोनाका कारण यस क्षेत्रको आर्थिक क्षेत्रमा पर्ने असरलाई कसरी न्युन गर्ने भन्ने विषयमा पनि एकीकृत रुपमा काम गर्न प्रस्ताव गरेका छन्।

भिडियो सम्मेलनमा नेपालका प्रधामन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस विरुद्ध नेपालले गरेको तयारीको सम्बन्धमा जानकारी दिएका थिए। प्रधानमन्त्री ओलीले नेपालमा अहिलेसम्म एकजना शंकास्पद देखिएकोमा उनमा पनि कोरोना संक्रमण फेला नपरेको जानकारी दिएका थिए।

रोगको जोखिमलाई ध्यान दिँदै तत्कालका लागि विदेशीहरुलाई अन अराइभल भिसा दिन बन्द गरेको, नेपाल भित्रने यात्रुलाई ‘सेल्फ क्वारेनटाइन’ मा राख्ने व्यवस्था मिलाएको र ‘स्क्रिनिङ’ सेवा उपलब्ध गराएको पनि प्रधानमन्त्री ओलीले बताएका छन्। यस्तै वैदेशिक रोजगारीमा जान रोकिएको, अस्पतालहरुमा आइसोलेसन वार्ड खडा गरेको, आईसीयु सेवा बढाएको पनि प्रधानमन्त्री ओलीले उल्लेख गरेका छन्।

त्यसैगरी श्रीलंकाका राष्ट्रपति गोटावाय राजपक्षे, भुटानका प्रधानमन्त्री लोते छिरिङ, अफगानिस्तानका राष्ट्रपति असरफ घानी, बंगलादेशका प्रधानमन्त्री शेख हसिना वाजेद, माल्दिभ्सका राष्ट्रपति ईब्राहिम मोहम्मद सोलिहले कोरोना भाईरसको संक्रमणबाट उत्पन्न हुनसक्ने संकटको मिलेर सामना गर्ने प्रतिवद्धता जनाएका छन् । उनीहरु सवैले साझा कोष बनाउने प्रस्तावको स्वागत समेत गरेका छन् । भिडियो सम्मेलनमा पाकिस्तानबाट भने स्वास्थ्य राज्यमन्त्री जफर मिर्जा सहभागी भएका थिए।
प्रकाशन मिति–२०७६ साल चैत्र २ गते आइतवार ।