![Gyanendra Shah, Bidhya Devi Bhandari & Komal Shah](http://www.visionsansar.com/wp-content/uploads/2017/04/Gyanendra-with-Bidhya-Devi.jpg)
काठमाडौ। नेपालका पूर्वराजा ज्ञानेन्द्र शाह र राष्ट्रपति विद्यादेवी भण्डारी वीच होटल सोल्टीमा करिब एक घण्टा जति कुराकानी भएको छ। कुराकानीमा पूर्वरानी कोमल शाहले पनि साथ दिएकी थिइन्।
विहीवार पूर्वराजा ज्ञानेन्द्र शाहका नाति हृदेन्द्र शाहको ब्रतबन्धको रेसेप्सेन्स पार्टीमा ज्ञानेन्द्रको निम्तो मान्न गएकी राष्ट्रपति भण्डारीको कुराकानी भएको हो। कुराकानी नितान्त पारिवारिक भएको समाचार स्रोतले भनेको छ। सञ्चो–विसञ्चो र पारिवारिक कुरा मात्र भएको भनिएको छ।
राष्ट्रपति भण्डारीको छोरी निशाकुसुमको माघको पहिलो हप्ता विवाह हुंदा पूर्वराजा ज्ञानेन्द्र शितल निवास पुगेका थिए। ज्ञानेन्द्र नातिको ब्रतबन्धमा त्यसैको पैचो तिर्न राष्ट्रपति भण्डारी होटल सोल्टी पुगेकी हुन्। कुनैबेला बेबी किङ्गको रुपमा पनि चर्चामा आएका हृदेन्द्र शाहलाई राष्ट्रपति भण्डारीले आशिर्वाद तथा उपहार पनि प्रदान गरेकी थिइन्।
नेपालका बहालवाला उपप्रधानमन्त्री कमल थापा लगायत कोमल ओली, राजेश हमाल लगायतका विशिष्ट व्यक्तिहरुको समारोहमा उपस्थिति थियो। सवैलाई ज्ञानेन्द्र शाह, पारस शाह, हिमानी शाह लगायतले स्वागत गरेका थिए। पारस र हिमानी वीच खासै बोलचाल नभएपनि छोरा हृदेन्द्रको ब्रतबन्धमा दुवै खटिएका थिए।
प्रकाशन मिति–२०७३ साल चैत्र २५ गते शुक्रबार ।