ललितपुर । नेवाः पत्रकार राष्ट्रिय दबूले स्वर्गीय अग्रज सञ्चारकर्मी विक्रम शाक्यको परिवारलाई एक लाख रुपैयाँ प्रदान गरेको छ। नेवाः पत्रकार राष्ट्रिय दबूले शनिबार ललितपुरको पुल्चोकस्थित अक्षेयश्वर महाविहारमा एक श्रद्धाञ्जली सभाको आयोजना गरी सहयोग स्वरुप उक्त रकम प्रदान गरेको हो।

उक्त रकम नेवाः पत्रकार राष्ट्रिय दबूका केन्द्रीय अध्यक्ष सुरजवीर बज्राचार्य र केन्द्रिय कोषाध्यक्ष सुरेन्द्रभक्त श्रेष्ठले संयुक्त रुपमा स्वर्गीय शाक्यका पत्नी धनलक्ष्मी शाक्यलाई हस्तान्तरण गरेका छन्। नेपाल भाषाका अग्रज सञ्चारकर्मी स्वर्गीय शाक्यले भाषा, साहित्य, संस्कृति र लिपिको विकासको लागि पत्रकारिताको माध्यमबाट महत्वपूर्ण भूमिका निर्वाह गरेको नेवाः पत्रकार राष्ट्रिय दबूका केन्द्रीय अध्यक्ष बज्राचार्यले वताएका छन्। पत्रकारितासंगै समाजमा राम्ररी भिजेर काम गर्ने स्वर्गवासी शाक्यको सामाजिक सीप, सहयोगी भावना र व्यक्तित्व बारे पनि केन्द्रिय अध्यक्ष बज्राचार्यले प्रकाश पारेका थिए।

नेवाःपत्रकार राष्ट्रिय दबूका निर्वतमान अध्यक्ष श्रीकृष्ण महर्जनले शुरुमा साहित्य, संस्कृति र मनोरञ्जनात्मक गतिविधिमा केन्द्रीत नेपाल भाषाको रेडियो सञ्चारमाध्यमलाई राजनीतिक, समसामयिक विषयमा बहस छलफल चलाउने स्तरसम्म विकास गर्न स्वर्गवासी पत्रकार शाक्यले अहम भूमिका निर्वाह गरेको जिकिर गरेका छन्।

कार्यक्रम संयोजक एवं नेवाःपत्रकार राष्ट्रिय दबूका केन्द्रिय वरिष्ठ उपाध्यक्ष नृपेन्द्रलाल श्रेष्ठले जनताको सूसुचित हुने हकको लागि अग्रपंक्तिमा रहेर महत्वपूर्ण भूमिका निर्वाह गर्ने पत्रकारहरु गम्भीर बिरामी वा समस्या परेको बेला नेवाःपत्रकार राष्ट्रिय दबूले अक्षयकोष स्थापना गरी र विभिन्न सहयोगी र शुभेच्छुकहरुको सहयोग पाएर यथोचित सहयोग गर्ने कार्यलाई निरन्तरता दिँदै आएको खुलासा गरेका छन्।

कार्यक्रममा नेवाःपत्रकार राष्ट्रिय दबूका महासचिव सुनील महर्जनले विक्रम शाक्यले ललितपुरका विविध गतिविधिलाई सञ्चारसंग जोड्ने कार्यसंगै भाषिक समानता, जातीय समानताको लागि पत्रकारिता मार्फत योगदान दिने कार्य गरेको वताउंदै पत्रकार शाक्य पैरवी पत्रकारिताको एउटा बलियो नजिर रहेको धारणा राखेका थिए।

स्वर्गीय शाक्यका पत्नी धनलक्ष्मी शाक्यले दुःखद घडीमा धैर्य बढाउन साथ, सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गरेकी थिइन्। झण्डै तीन दशकदेखि सञ्चार क्षेत्रमा क्रियाशील शाक्यको ४९ वर्षको उमेरमा गत असोज १५ गते बिहीबार निधन भएको थियो।


प्रकाशन मिति–२०७७ साल कात्तिक २९ गते शनिवार ।