–रविन पिया
अस्टिन (टेक्सास, अमेरिका) । नेपाल र अमेरिका बीच कूटनीतिक सम्बन्ध स्थापना भएको फेब्रुवरी १६ तारिखमा ७५ औं वर्ष पूरा भएको छ। यसै उपलक्ष्यमा फेब्रुवरी १५, २०२३ का दिन टेक्सास राज्यको संसदमा “नेपाल डे” नामक प्रस्ताव पेश भएको थियो । उक्त प्रस्तावलाई अमेरिकाको टेक्सास स्थित हाउस अफ रेप्रिजेन्टेटिभबाट “नेपाल डे” पारित भएको छ।

अव हरेक वर्ष अमेरिकाको टेक्सासमा फेब्रुवरी १६ लाई “नेपाल डे” का रुपमा मनाउन पाइने भएको छ। जुन नेपाल र नेपालीका लागि अत्यन्त गौरबको कुरा हो । यसरी “नेपाल डे” मनाउन पाउनका लागि उक्त प्रस्तावलाई टेक्सास डिस्ट्रिक्ट १०५ की सांसद टेरी मेजाले टेबुल गरेपछि टेक्सास स्थित हाउस अफ रेप्रिजेन्टेटिभबाट पारित भएको थियो ।
प्रस्ताव पारित भएपछि आयोजित कार्यक्रममा सांसदहरु टेरी मेजा, सल्मान भोजानी, सुलेमान ललानी लगायत नेपाली संघ–संस्थाका प्रतिनिधिहरुले नेपाल र अमेरिका बीचको सम्बन्ध अझ बलियो तथा प्रगाढ हुने विश्वास व्यक्त गरेका थिए।

प्रस्ताव पारितपछि त्यहां उपस्थित नेपालीहरुले एकआपसमा बधाई तथा शुभकामना आदानप्रदान गरेका थिए । त्यस्तै, विशेष र्‍यालीको आयोजना गरेर टेक्सास क्यापिटल हाउस अगाडि नेपाली राष्ट्र्रिय गान गाउंदै मार्चपास गरिएको थियो । “यसलाई एउटा ऐतिहासिक उपलव्धि मान्दै आगामी दिनमा नेपाली भाषामै ड्राइभिङ लाइसेन्सको परीक्षा दिन पाउने व्यवस्था गर्नको लागि पहल गर्नुपर्छ” भनी सहभागी बुद्धिजीवि तथा साहित्यकार मोहन सिटौलाले बताए ।

“नेपाल डे” सफल पार्न स्थानीय नेपाली संस्थाहरु ग्रेटर अष्टिन नेपाली सोसाइटी, नेप्लिज सोसाइटी अफ टेक्सास, ह्यूस्टन नेपाली सोसाइटीको महत्वपूर्ण भूमिका रहेको थियो।

फोटो सौजन्यः विदुर खतिवडा
प्रकाशन मिति–२०७९ साल फागुन ५ गते शुक्रवार ।