–रविन पिया
अस्टिन (टेक्सास–अमेरिका)। “म चाहिं नेपालको अमेरिकाको लागि अस्थायी राजदूत हूँ र तपाईहरू चाहिँ स्थायी राजदूत हो। “
अमेरिकाको टेक्सास राज्यको राजधानी अस्टिनमा नेपालको लागि अमेरिकाको राजदूत डा. अर्जुन कार्कीले गत शनिबार सेप्टेम्बर १४ तारिख ,ग्रेटर अस्टिन नेपाली सोसाईटीको आयोजनामा गरिएको अन्तरक्रिया कार्यक्रममा उक्त कुरा भनेका हुन्।

“यहाँ बस्ने सम्पूर्ण नेपालीहरूले हरेक दिन हाम्रो देश नेपालको उपस्थिति जनाई प्रतिनिधि गरिरहनु भएको छ। तपाईहरूले मैले भन्दा धेरै काम गर्न सक्नु हुन्छ “ राजदूत डा. कार्कीको भनाई रहेको थियो।
“संसारको सबैभन्दा शक्तिशालि देशमा एउटा सानो देशको सरकारको आधिकारिक, तोकिएको खास जिम्मेवारी लिएर आएको एउटा सानो देशको सानो कार्यलय, सानो जनशक्ति र सानो आर्थिक बजेट लिएर आएको एउटा तोकिएको ब्यक्ति मात्र हुँ “ भनेर डा.कार्कीले सोही अन्तरक्रिया कार्यक्रममा बताएका छन्।

राजदूत डा. कार्कीको उपस्थितिमा संचालित एमआरपि पासपोर्ट, पासपोर्ट नविकरण, वारेशनामा, ट्राभल्स डकुमेन्टको समेत सेवा प्रदान गरिएको थियो। अस्टिनका वरिपरी शहर सहित डालस, ह्युस्टन, सानआन्टोनियो शहरमा बसोबास गरिरहेका नेपालीहरूले उक्त शिविरबाट सेवा प्राप्त गरेका थिए। ग्रेटर असिटन नेपाली सोसाईटी र नेपाली राजदुतावास वासिंगटन डिसीको संयुक्त आयोजनामा संचालित शिविरमा तीन सय भन्दा नेपालीहरूले सेवा प्राप्त गरेको ग्यान्सका अध्यक्ष भोजराज भट्टले जानकारी दिएका छन्।

राम कुमार महत्वद्वारा संचालित अन्तरक्रिया कार्यक्रममा समाजसेवी हेम पाठक, डा.कमल अधिकारी, शेखर यादव , एनआरएनका उपाध्यक्ष अर्जुन बन्जाडे लगायतका विभिन्न क्षेत्रका वरिष्ठ ब्यक्तिहरूले आ–आफ्नो मन्तव्य ब्यक्त गरेका थिए।

प्रकाशन मिति–२०७६ साल असोज ४ गते शनिवार ।