काठमाडौं। भारतमा मात्र किडनीको किनबेच तथा एकको नाममा अर्कै व्यक्तिको किडनी झिक्ने गरेका अनेक कुरा सुनिदैआएकोमा त्यस्ता घटनाको प्रत्याभूति नेपालमा पनि हुन थालेको छ। किडनी ट्रान्सप्लान ऐन–कानून नेपालमा आएपछि नेपालमा नै किडनी ट्रान्सप्लान हुंदैआएको सुखद कुरा हो।

यसक्रममा विकृति पनि आउन थालेको छ। जुन विकृतिको खेल खेल्ने ललितपुरको पुलचोक स्थित निदान अस्पतालको नाम आएको छ। एक व्यक्तिको नाममा अर्कै व्यक्तिको मिर्गौला झिकेको आरोपमा प्रहरीले ललितपुरको निदान अस्पतालका प्रमुख कार्यकारी अधिकृतसहित ५ जनाललाई पक्राउ गरेको छ।

पुल्चोकस्थित उक्त अस्पतालले एक व्यक्तिको नाममा अर्कैको मिर्गौला झिकी किनबेच तथा प्रत्यारोपण गराएको आरोपमा प्रहरीको मानव बेचबिखन अनुसन्धान व्यूरोले अस्पतालका सीईओ विपेन्द्र प्रधान,अस्पतालका कानुनी सल्लाहकार कुमुदकुमार भट्टराई, अस्पतालका डाक्टर राजेश पन्त, मिर्गौला लिने बिरामी शंकरलाल लामा र जिल्ला प्रशासन कार्यालयका शाखा अधिकृत रामचन्द्र आलेलाई पक्राउ गरेको हो।

अस्पतालले एक जनाको मिर्गौला झिक्ने भनी अर्कै व्यक्तिको मिर्गौला झिकेर बिक्री गरेको आरोप लागेकाले अनुसन्धानका लागि पक्राउ गरेको व्यूरोका प्रवक्ता एसपी गोविन्द थपलियाको भनाई रहेको छ।
प्रकाशन मिति–२०७६ साल असोज २९ गते बुधवार ।