काठमाडौं । उपनाम राखेर पनि नागरिकता लिन सक्ने गरी नागरिकता विधेयकमा संसदको राज्य व्यवस्था तथा सुशासन समितिले सहमति जुटाएको छ। मंगलबारको बैठकमा समितिले जुटाएको सहमतिअनुसार कसैले उपनाम राखेर नागरिकता लिन चाहेमा जिल्ला प्रशासन कार्यालयले प्रतिलिपी दिनुपर्ने हुन्छ।

छलफलका क्रममा सांसद यसोदा सुवेदी गुरुङले आमा र बुबा दुबैको थर राखेर नागरिकता लिने अभ्यास प्रचलनमा रहेको उल्लेख गर्दै दुबै थर नराखी उपनाम मात्रै राखेर नागरिकता लिन पाउने कि नपाउने भन्दै प्रश्न गरेकी थिइन् ।
‘मेरो बुबाको थर सुवेदी, आमाको थर पौडेल । बुबा र आमाको नाम राखेर नागरिकता लिने अभ्यास पनि छ । तर, मैले यो दुईवटै थर राख्दिन । ‘यशोदा नेपाल’, यशोदा राख्न चाह्यो भने किन नदिने ?’

जवाफमा सभापति शशी श्रेष्ठले भनिन्, ‘दिने हो ।’ थर राख्ने कि उपनाम राखेर नागरिकता लिने भन्ने व्यक्तिको स्वतन्त्रता भएको र त्यसलाई हनन गर्न नहुने सांसद गुरुङको भनाइ थियो । तर, सांसद प्रेम सुवालले संविधानले बुहसांस्कृतिक, बहुभाषिक, बहु सामाजिक भनेर भनेको उल्लेख गर्दै थर नै नराखी उपनाम राखेर नागरिकता दिने व्यवस्था राख्न नहुने भन्दै विरोध गरे ।

नागरिकतामा थर फेर्न पाउने कि नपाउने भन्ने छलफलका क्रममा उपनाम राख्न पाउनुपर्ने विषयले पनि प्रवेश पाएको थियो । समितिले मंगलबार उपनाम नै राखेर पनि नागरिकता लिन सकिने गरी सहमति जुटाएको हो ।

गृहसचिव प्रेमकुमार राईका अनुसार नागरिकता विधेयकको दफा ७ को ८ (ख) मा ‘यस ऐन बमोजिम नागरिकता लिने व्यक्तिले चाहेमा सम्बन्धित समुदायभित्रको थर वा कुनै उपनाम राखी तोकिए बमोजिमको नागरिकताको प्रमाणपत्र दिन सकिनेछ’ भन्ने लेखिनेछ।

यसअघि, विधेयककमा थर फेर्ने वा उपनाम राख्न सकिने प्रावधान थिएन । यो व्यवस्था राख्नुपर्ने भन्दै संशोधन प्रस्ताव दर्ता भएको थियो । थर फेर्न चाहेमा वा इच्छाएको थर राखेर नागरिता लिन चाहेमा दिनुपर्ने भन्दै सांसदहरु पार्वती कुमारी विसुंखे, आशाकुमारी विक, गगन थापा, प्रमोद शाह, एकवाल मिया, मिना पाण्डे, पुष्पा भुसाललगायतले संशोधन दर्ता गरेका थिए । यही संशोधनमाथि छलफलका क्रममा समितिले उपनाम राखेर पनि नागरिकता लिन पाउने गरी सहमति जुटाएको हो ।
प्रकाशन मिति–२०७५ साल चैत्र ४ गते मंगलवार ।