नवलपरासी। अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसनले सोमबार यौन दुराचारबाट पीडित बनेका नागरिकहरु समक्ष राष्ट्रिय रुपमा सार्वजनिक क्षमा मागेका छन्। अष्ट्रेलियामा दशकौंअघि विद्यालय, चर्च लगायतका संस्थाहरुमा भएका यौन दुराचारको घटनालाई लिएर पीडित समक्ष प्रधानमन्त्री मरिसनले राष्ट्रको तर्फबाट क्षमा मागेका हुन्।

क्यानबेरामा रहेको संसद भवनमा पीडितहरु समेत सहभागी कार्यक्रममा मरिसनले आफूहरुले पीडितहरुको पीडा सुन्न, विश्वास गर्न र न्याय दिन असफल भएको बताउँदै क्षमा गरिदिन आग्रह गरेका थिए ।

उक्त कार्यक्रममा विपक्षी दलका लेबरका नेता बिल सर्टनले समेत पीडितहरु समक्ष सार्वजनिक रुपमा माफी मागेका थिए । माफी माग्ने क्रममा प्रधानमन्त्रीका साथै अन्य नेताहरु भावुक समेत बनेका थिए । अष्ट्रेलियामा रहेका यस्ता संस्थाहरुमा बालिकाहरुलाई यौन दुराचार भएको पीडितहरुले सार्वजनिक गरेपछि सरकारले रोयल कमिसन स्थापना गरेको थियो।

रोयल कमिसनले लामो समयको अध्ययन र अनुसन्धान पछि सरकारलाई विभिन्न सुझावहरु दिएको थियो । सोही सुझावका आधारमा राष्ट्रको तर्फबाट प्रधानमन्त्रीले क्षमा मागेका हुन्।
(समाचार एजेन्सीको सहयोगमा)
प्रकाशन मिति–२०७५ साल कात्तिक ५ गते सोमवार।