काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली को आजवाट साताव्यापी युरोप भ्रमण ुहने भएको छ। प्रधानमन्त्री ओली नेपाली समय अनुसार आज साँझ स्वीट्जरल्यान्ड प्रस्थान गर्ने कार्यक्रम रहेको छ। उच्चस्तरीय ३१ सदस्यीय टोलीको नेतृत्व गर्दै स्वीट्जरल्याण्ड जान लागेका प्रधानमन्त्री ओलीले सोमबार अन्तर्राष्ट्रिय श्रम संगठनको १०० वर्ष पुगेको अवसरमा जेनेभामा आयोजना हुने कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम छ।

 

त्यसपछि ओलीले स्वीस इन्टेरियर मिनिस्टर एवंम् पूर्व राष्ट्रपति अलिन ब्रेसेटसँग दुई पक्षीय वार्ता गर्नेछन्। ओलीले जेनेभास्थित नेपाली समुदायसँग पनि भेट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। जेनेभाबाट बेलायत जाने प्रधानमन्त्री ओलीले ११ जुनमा बेलायतकी प्रधानमन्त्री टेरेसा मे सँग भेट गर्ने कार्यक्रम छ। त्यसै दिन प्रधानमन्त्री ओलीले अक्स्फोर्ड युनिभर्सिटीमा नेपालीहरुसँग अन्तरक्रिया गर्नेछन्। १२ जुनमा प्रधानमन्त्री ओली फ्रान्समा पुगेर राष्ट्रपति इम्यानुयल म्याक्रोंसँग भेटवार्ता गर्नेछन्।

त्यसपछि ओलीले नेपाल र फ्रान्सको कूटनीतिक सम्बन्धको ७० औँ वर्षगाँठका अवसरमा आयोजित एक विशेष कार्यक्रममा सहभागी हुनेछन्। त्यसक्रममा ३२ अर्बको लगानीसहित नेपाली आकाशमा प्रक्षेपण गर्न लागिएको भू–उपग्रहसम्बन्धी सम्झौतामा समेत नेपाल र फ्रान्सले हस्ताक्षार गर्ने कार्यक्रम छ।

प्रधानमन्त्री ओलीको टोलीमा  पत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट, परराष्ट्र सचिव शंकरदास वैरागी, श्रम सचिव महेश दाहाल, प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार र वैदेशिक सल्लाहकार राजन भट्टराईलगायत सहभागी हुनेछन् । युरोप भ्रमण सकेर प्रधानमन्त्री ओली असार १ गते स्वदेश फर्कने कार्यक्रम छ।


प्रकाशन मिति–२०७६ साल जेठ २५ गते शनिवार ।