काठमाडौ। प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व आज परेको छ। हिन्दू परम्पराअनुसार घरका मूलढोकामा नागको तस्वीर टाँसी पूजार्चना गरेर मनाउने कार्य भएको छ।

यसरी नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायत जीवले दुःख नदिनाका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने हिन्दू धार्मिक विश्वास छ। नाग पूजाको प्रचलन वैदिक कालदेखि नै शुरु भएको हो।

वैदिक मान्यतानुसार नागलाई सर्पको राजा मानिन्छ। नाग रिसाए भने पानीको अभाव हुने भएकाले पानीका लागि पनि नागलाई खुशी पार्न पूजा गर्ने परम्परा बसेको हो। वराहपुराणमा उल्लेख भएअनुसार यसै तिथिमा नागराजसँग ब्रह्माको संवाद भएकाले पनि आजको दिन नागपूजाका लागि प्रसिद्ध मानिन्छ।

प्रत्येक घरमा नाग रहेका हुन्छन् । घरको जगमुनि बसेका नाग रिसाई गएमा घरको जग नै भत्कन्छ भन्ने धार्मिक विश्वासमा पनि नाग पूजा गर्ने परम्पराले निरन्तरता पाएको हो।

नागलाई विष्णु र शिवका रुपमा मान्ने प्रचलन वैदिक सनातन कालदेखि नै छ। आज काठमाडौको नक्साल स्थित नागपोखरी, चोभारको नागदह, सुन्धाराको नागस्थान लगायत देशैभरका नाग मन्दिरहरुमा मेला नै लागेको छ।
प्रकाशन मिति–२०७५ साल साउन ३१ गते विहीवार ।