काठमाडौं। हिन्दू मान्यता अनुरुप परापूर्वकालदेखि चल्दैआएको आज नागपञ्चमी पर्व परेको छ। हिन्दू वैदिक सनातन धर्मावलम्वीहरुले घर, दह तथा कुण्ड र नागस्थानमा नागको पूजा आजा गरी यो पर्व मनाउने गरेका छन् । घरका मूलढोकामा नागको तस्वीर टाँसेर पूजा गर्ने प्रचलन रहेको छ ।

त्यसो गर्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिने र अग्नि, मेघ तथा चट्याङको भयबाट पनि बच्न सकिने धार्मिक विश्वास रहेको छ ।

आज बिहानैदेखि काठमाडौंको नागपोखरी र टौदह, भक्तपुरको सिद्धपोखरी लगायत देशभरका नागदह, कुण्ड र नागस्थानमा गाईको दूध, अक्षता, दुबो, खीर, रोटी लगायतका परिकार चढाएर नागको पूजा गर्नेहरूको घुइँचो लागेको छ ।

नागका बाह्र नाम रहे पनि अनन्त, वासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शंख गरी अष्ठनागको पूजा गर्ने चलन रहेको छ । ब्राह्मण पुरोहितहरुले यजमानका घरमा पुगेर विधिपूर्वक पूजाआजा गरी घरको ढोकामाथि टास्ने गर्दछन् ।

नागको पूजा गरेपछि खेत बारीमा खनजोत गर्न नहुने मान्यता पनि रहेको छ । वैदिक मान्यता अनुसार नागलाई सर्पको राजा मानिन्छ । नाग रिसाए भने अनिष्ट हुने धार्मिक विश्वास पनि रहेको छ । नागले प्रकृतिमा रहेका विषालु पदार्थको शोषण गरी अन्य जीवलाई विषबाट जोगाउने विश्वास पनि गरिन्छ ।

प्रकाशन मिति–२०७८ साल साउन २९ गते शुक्रवार ।