काठमाडौं। आज भाद्र कृष्ण औंशीको दिन अर्थात कुशे औँशी पर्व। पिताको मुख हेर्ने दिन। पितृप्रतिको सम्मान दिवस। यस पर्व तथा दिवसमा छोराछोरीहरू परम्पराअनुसार आ–आफ्ना बाबुलाई मनपर्ने मिठाई तथा भोजन खुवाई आदर सम्मान प्रकट गर्ने र बाबुको मुख हेर्ने गर्दछन्। बाबु नहुनेहरू विभिन्न पवित्र स्थानमा गई आफ्ना बाबुको नाममा तर्पण, पिण्डदान तथा श्राद्ध गरी सिदा दिन्छन्।

आजको दिन विशेषगरी उत्तरगया भनेर चिनिने काठमाडौँको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर महादेव मन्दिर परिसरमा विशेष मेला लाग्छ। आज विहानैदेखि गोकर्ण मन्दिर तथा गोकर्णको उत्तरगयामा ठूलो मेला लागेको छ। विहानैदेखि त्यहां भक्तजनहरुको भीड लागेको छ।

यसैले आजको औँशीलाई गोकर्णे औँशीका नामले पनि चिनिन्छ। आज गोकर्णेश्वर महादेव मन्दिर परिसरमा दिवङ्गत बाबुको नाममा तर्पण, पिण्डदान तथा सिदादान गर्नेको भीड लागेको छ। यसैगरी रसुवाको वेत्रावतीमा पनि भक्तजनको लर्को लागेको छ।
प्रकाशन मिति–२०७५ साल भदौ २४ गते आइतवार ।