ललितपुर। आफू स्पाइनल ट्युमर रोगको कारण अशक्त भएतापनि सवैका लागि आत्मबल र आत्मउत्प्रेरणाका ऊर्जा बन्दैआएका स्वतन्त्र संसार महर्जन यो नामै यतिखेर नेपाली तथा नेपालभाषीहरुको लागि काफी छ।

फरक सोच र फरक काम गरेर अग्रपंक्तीमा देखिएका स्वतन्त्र संसार महर्जनको संसार निक्कै फराकिलो भैसकेको छ। नेपाली तथा नेपालभाषीहरु माझ पहिचान राखेर यतिखेर संसार क्रियसन्स र एम्स इन्टरटेन्टमेन्ट मार्फत विश्वव्यापी फैलिने कोशिशमा स्वतन्त्र संसार रहेका छन्।

यिनै स्वतन्त्र संसार महर्जन विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोनाभाइरसको संक्रमण फैलिनवाट बच्न र बचाउन गरेको लकडाउनको कारण प्रभावित बनेका छन्। लकडाउनका कारण घरैमा बसेर सिर्जनशील कार्यमा व्यस्त रहेका स्वतन्त्र महर्जन आफू अशक्त भएतापनि सशक्त कार्य गर्न र गराउनमा नै रुचि राख्ने गर्दछन्।

यसक्रममा लकडाउनको कारण मानिसलाई मात्र नभइकन कुकुरलाई पनि समस्या परेको आत्मसात गरेर कुकुरलाई खाना खुवाउने अभियानमा पनि स्वतन्त्र लागिपरेका छन्। गृहनगर खोकनाका भोकाएका कुकुरहरुलाई खाना खुवाउने अभियानवाट अगाडि बढेका स्वतन्त्र पशुअधिकार अभियन्ताको रुपमा पनि एक कदम अगाडि देखा परेका छन्।

हरेक शनिवार कुकुरलाई मासुभात खुवाउने र मंगलवार विस्कुट खुवाउने अभियानमा लागेका छन्। हाललाई खोकना, कार्यविनायक, भैंसीपाटी लगायतका स्थानमा कुकुरलाई भोजन गराउने अभियानमा स्वतन्त्र लागिपरेका छन्। स्वतन्त्रलाई यसमा सहकार्य गर्नेमा चिची हाउस खोकना, व्यवस्थापन संयोजक रामकाजी महर्जन लगायत संसार क्रियशनका संपूर्ण पदाधिकारी छन्।
प्रकाशन मिति–२०७७ साल भाद्र १८ गते विहीवार ।