काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस (कोभिड–१९)को जोखिम काठमाडौं उपत्यकामा बढ्दै गएको बताएका छन्। देशवासीका नाममा सम्बोधन गर्दै शुक्रबार प्रधानमन्त्री ओलीले लकडाउन खुकुलो पारेसँगै कोरोना संक्रमणको जोखिम काठमाडौं उपत्यकामा बढिरहेको बताएका हुन् ।

लकडाउनलाई केही खुकुलो पारेसँगै संक्रमणको धेरै जोखिम राजधानी उपत्यकातर्फ बढिरहेको जिकिर प्रधानमन्त्रीले सम्बोधनमा गरेका छन्।सरकारले पछिल्लो समय मुलुकमा लकडाउन खुकुलो पार्ने निर्णय लिएको छ। सार्वजनिक सवारी साधन चलाउन दिने, व्यापार व्यवसाय गर्न दिने र कार्यालय खोल्ने निर्णय लिएपछि राजधानी लगायतका ठूला सहरहरूमा कोरोना संक्रमितको संख्या वृद्धि भएको हो।

गत असार ९ देखि २४ गतेका बीच मात्रै काठमाडौं उपत्यकामा संक्रमितहरूको संख्यामा उल्लेख्य वृद्धि भएको छ। ९ गते सिंगो उपत्यकामा ६३ जना संक्रमित रहेकोमा २४ गते यसको कुल संख्या २३३ पुग्यो भनेर प्रधानमन्त्री ओलीले सम्बोधनमा भनेका छन्। यसले भयावहको संकेत गरिरहेको पनि प्रधानमन्त्रीले संवोधनमा भनेका छन्।

यो संक्रमण समुदायमा फैलिन गए भयावह अवस्था सिर्जनासमेत हुनसक्छ भन्दैसबैमा थप गम्भीरता, अनुशासन र सचेतनता आवश्यक रहेको बताए। प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्र देखिएको विवाद आन्तरिक मामिला भएको र यसलाई समाधान गर्ने जिम्मेवारी नेताहरुको भएको भन्दै जनताको जीवन रक्षामा जुट्न आहृवान गरेका छन्।

प्रधानमन्त्री ओलीले बाढी तथा पहिरोका कारण ३१ जनाको ज्यान जानुका साथै ३४ जना हराइरहेको बताए। उनीहरुको उद्दार तथा राहतमा सरकारले कुनै कसर बाँकी नराख्ने भन्दै उनले यसमा जुट्न सबैलाई अपिल गरेका छन्। सत्तारुढ नेकपाभित्र भइरहेको विवादतर्फ संकेत गर्दै उनले महामारी र प्रकृतिक विपत्तिको समयमा पनि राजनीतिक बहस किन भन्ने प्रश्न उठ्नु स्वभाविक भएको बताए। ‘पार्टीभित्र हुने यस्ता छलफल, बहस र बिमतीहरु तिनका नितान्त आन्तरिक र कतिपय अवस्थामा नियमित प्रक्रिया पनि हुन्।

यस्ता विषयहरु सम्बन्धित दल र तीनका नेताहरु आपसी छलफलबाटै सुल्झाउनेछन्’ प्रधानमन्त्री ओलीले भने, ‘यसका लागि धर्यता र संयम आवश्यक हुन्छ ।’ कतिपयमा राजनीतिक स्थिरता, स्थायित्व र स्थापित प्रणालीप्रति चिन्ता पाएको भन्दै उनले भने, ‘म आश्वस्त पार्न चाहन्छु, आम नेपालीहरुप्रति आपसी एकता बढाउन, संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्न, राष्टिय स्वाभिमानमाथि उठाउन, देशको सार्वभौमसत्ता र भौगोलिक अखण्डता अक्ष्युण राख्न मेरो तर्फबाट दृढ अडान र हैदसम्मको प्रयास जारी रहनेछ ।’

आन्तरिक विमती वा समस्यामा अल्झिएर जनताको जीवन रक्षाको दायित्वबाट विमुख हुन नमिल्ने भन्दै प्रधानमन्त्री ओलीले सरकारको ध्यान र प्रयास महामारी र विपत्तिमा परेका नागरिकको जिउधनको रक्षामा केन्द्रित रहेको बताएका छन् ।
प्रकाशन मिति–२०७७ साल असार २६ गते शुक्रवार ।