काठमाडौ। आमाबुवा कार दूर्घटनामा परेर मृत्यु भएको चार बर्षपछि उनीहरुको बच्चा जन्मियो भन्दा सवैको लागि अनौठो खवर हो। यो खबर चीनको हो। चीनमा कार दुर्घटनामा परी मृत्यु भएका एक दम्पतीको चार वर्षपछि सन्तान जन्मिएको छ।

बच्चा जन्माइदिनका लागि कोख भाडामा दिने ‘सरोगेट मदर’मार्फत् ती बालकको जन्म भएको हो। सन् २०१३ मा कृत्रिम गर्भाधानद्वारा बच्चा जन्माउने आशामा उक्त दम्पतीले आफ्ना केही भ्रूण नबिग्रिने गरी कम तापक्रममा भन्डारण गर्ने व्यवस्था मिलाएका थिए।

लाओसकी ‘सरोगेट’ आमामार्फत् ती बालकको जन्म गत डिसेम्बरमा भएको हो भने यसबारेको खबर केही दिनअघिमात्र सार्वजनिक भएको हो। दूर्घटना हुँदा भ्रूण नान्जिङ अस्पतालमा तरल नाइट्रोजन भएको ट्यांकमा माइनस १९६ डिग्रीमा जमाएर सुरक्षित राखिएको थियो। कानूनी लडाइँपछि ती बालकका घर र मावलीतर्फ गरी चारैजना हजुरबुवा–हजुरआमाले भ्रूणको अधिकार पाएका थिए।

चीनमा सरोगेसी गैरकानून भएकाले उनीहरु सरोगेसी कानूनीरूपमा सन्चालन हुने लाओसस्थित सरोगेसी सेवा उपलब्ध गराउने संस्थामा पुगेका थिए। सोही संस्था मार्फत सुरक्षित भ्रुण मार्फत आमाबुवाको मृत्यको चार बर्षपछि बच्चा जन्माउन सफलता प्राप्त गरेको हो।

(समाचार एजेन्सीको सहयोगमा)
प्रकाशन मिति–२०७४ साल चैत्र २९ गते विहीवार ।