न्यूयोर्क। अमेरिकाको न्यूयोर्कस्थित ‘ट्रम्प टावर’मा आगलागी भएको छ। आगलागीमा परेर एकजनाको मृत्यु हुनका साथै अन्य ६ जना घाइते भएका छन्।

मृत्यु हुनेमा सोही भवन निवासी ६७ वर्षीय पुरुष रहेको जनाइएको छ। उनी भवनको ५० औं तलामा बस्दै आएको त्यहाँका अधिकारीहरुले बताएका छन्। गम्भीर घाइते अवस्थामा अस्पताल लगिएका उनको मृत्यु भएको अमेरिकी संचारमाध्यमले जनाएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निजी कार्यालयसमेत रहेको सो भवनमा आगालागी हुँदा ट्रम्पको परिवारका सदस्य भने त्यहाँ नरहेको बताइएको छ।

आगलागी कसरी भयो भन्नेबारे प्रष्ट भइसकेको छैन्। आगो भने नियन्त्रणमा आइसकेको छ। अमेरिकी राष्ट्रपति ट्रम्पले अग्नि नियन्त्रक कर्मचारीको अथक प्रयासको प्रशंसा गरेका छन् ।
(समाचार एजेन्सीको सहयोगमा)
प्रकाशन मिति–२०७४ साल चैत्र २५ गते आइतवार ।