Donald Trump with his wife Maleniya Trump

काठमाडौ। हेर्दा–हेर्दै विभिन्न आरोह तथा अवरोह पार गरेर सन् २०१७ साल विदा भएको छ। यो बर्ष तुलनात्मक रुपमा विश्वमा विभिन्न घटना–परिघटनाले तनाबमय बनाएको छ। विशेषत यो बर्षको प्रारम्भमा विश्वको अत्यन्त बैभबशाली मुलुक अमेरिकामा नयाँ राष्ट्रपति डोनाल्ड ट्रम्पको उदयले विश्वलाई केही महिना त्राहीमान नै बनायो।

आप्रवासीहरुलाई अमेरिकावाट लखेट्ने जस्ता अनेकन डर ट्रम्पवाट हुन पुग्दा केही महिना अध्यारो जस्तो नै भयो। विभिन्न घटना–परिघटनाले ट्रम्पलाई अमेरिकाको कानूनलाई मज्जाले बाँध्न सफलता प्राप्त गरेकोले उनले मनोमानी भनेजस्तो गर्न सकेन।

जसको कारण विशेषत आप्रवासीहरुको लागि राहतको विषय बन्यो। यद्यपि, विभिन्न विषयमा ट्रम्पले विभिन्न राष्ट्रका मामिलामा समेत अनेक कार्य गरेर तहल्का मच्चाउन सफलता प्राप्त गरेका छन्। यस हिसावले ट्रम्प सन् २०१७ को हिरो अफ द म्यान नै बनेका छन्।

ट्रम्पको अलावा उत्तर कोरियाली शासक किम जोङ उन, चिनियाँ राष्ट्रपति सी चिनपिङ र जिम्बाबेका शासक रोबर्ट मुगाबे यो वर्षका सर्वाधिक चर्चित राजनीतिक पात्र बनेका छन्। म्यानमारका अल्पसंख्यक रोहिंग्यामाथिको अत्याचार, मध्यपूर्वमा अमेरिकी घोषणाविरुद्धको निर्णय, मध्यपूर्वी मुलुकहरुको संघर्ष, कतारमाथि छिमेकी साउदी अरबको नाकाबन्दी सन् २०१७ का महत्वपूर्ण घटनाक्रम बन्यो।

अमेरिकी इतिहासमै सबैभन्दा पाको उमेरका राष्ट्रपति ट्रम्प विवादास्पद व्यवहार र बोलीका कारण वर्षैभरि समाचारको शिखरमा छाइरहे । उत्तर कोरियासँगको वाकयुद्ध, अमेरिकी चुनावमा रुसी सहयोगको प्रसंग, विभिन्न मुश्लिम मुलुकका जनतालाई अमेरिका प्रवेशमा रोक लगाउने उनका निर्णय विवादको घेराभन्दा बाहिर रहन सकेनन्।

चीनको दूर्गम गाउँबाट सत्ताको शिखरमा पुगेका सी चिनफिङ चीनमा माओपछिकै शक्तिशाली नेता बन्न सफल भए, चिनियाँ कम्युनिष्ट पार्टीको १९ औं महाधिवेशनले उनको विचारधारालाई पार्टीको निर्देशक सिद्धान्त बनाए।

विश्व जगतबाट अलगजस्तै रहेको उत्तर कोरियाले आणविक कार्यक्रमलाई अझ बलियोसँग निरन्तरता दिएर छिमेकीलाई मात्र तर्साएन, नाकाबन्दीका बाबजुद अमेरिकालाई चर्को दवावमा राख्ने काम यही वर्ष भयो। म्यानमारमा रोहिंग्या मुसलमानमाथिको अत्याचार सन् २०१७ को अर्को महत्वपूर्ण घटना बन्यो। त्यहाँबाट लाखौं मानिस बंगलादेश पलायन भए।

यो समस्याले आङ साङ सूचीलाई निकै विवादमा तान्यो। टर्कीमा सम्पन्न जनमत संग्रहले राष्ट्रपति रिसेप तैयप अर्दोगानलाई सन् २०२९ सम्म पदमै रहन सक्ने गरी सर्वशक्तिमान बनाउने पक्षमा मतदान गर्‍यो। सन् २०१७ तेलको धनी मुलुक भेनेजुयलाका लागि भने सुखद बन्न सकेन ।

राजनीतिक संकटको असरले त्यहाँको अर्थतन्त्र डामाडोल बन्यो। औषधीको समेत हाहाकार भयो। दक्षिण कोरियामा अपदस्थ राष्ट्रपति पार्क गेउन हेइले शक्तिको दुरुपयोग र भ्रष्टाचारको अभियोगमा जेल सजाय पाइन्, अप्रिल महिनामा।

यता फ्रान्समा भने ३९ वर्षीय इम्यानुअल म्याक्रोन फ्रान्सको राष्ट्रपतिमा निर्वाचित भएर सबैलाई चकित पारिदिए। त्यस्तै, इरानमा मे महिनामा सम्पन्न चुनावमा हसन रुहानी पुनः राष्ट्रपति निर्वाचित भए। भारतको दार्जिलिङमा महिनौं चलेको गोर्खाल्याण्ड आन्दोलन सन् २०१७ को अर्को महत्वपूर्ण घटना बन्यो । आन्दोलनका क्रममा केहीले ज्यान गुमाए तर पनि आन्दोलनकारीको माग पुरा हुन सकेन।

भारतमै यौन शोषणको मुद्दामा दोषी पाइएपछि विवादास्पद धर्मगुरु गुरमीत रामरहीम सिंहले २० वर्ष जेल सजाय पाए अगष्ट महिनामा। अदालतको फैसलापछि फैलिएको हिंसामा दर्जनौंको मृत्यु भयो। छिमेकीलगायत ६ वटा खाडी मुलुकहरुले कतारसँगको कूटनीतिक सम्बन्ध बिच्छेद गरेपछि मध्यपूर्वमा नयाँ राजनीतिक तरंग उत्पन्न भयो। आतंकवादलाई प्रश्रय दिएको, क्षेत्रीय तथा आपसी मतदभेद बढाउने गतिविधिमा संलग्न रहेको आरोप लगाउदै कतारविरुद्ध छेडिएको कूटनीतिक लडाईको समाधान सन् २०१७ मा भेटिएन।

पाकिस्तानमा पानामा पेपर लिक्स प्रकरणमा दोषी ठहर भएका पाकिस्तानी प्रधानमन्त्री नवाज शरिफले पदबाट राजिनामा दिन बाध्य हुनुपर्‍यो। संसारका धनाढ्य तथा शक्तिशाली नेताले कर छल्न गोप्य रूपमा लगानी गरेको प्याराडाइज पेपर्सको खुलासाले बेलायतकी महारानी एलिजाबेथलगायत धेरैलाई विवादको भुमरीमा पुर्‍याइदियो।

भारत–चीनबीचको दोक्लाम सीमा विवादले एसियामात्र नभई पूरै विश्वको ध्यान खिच्यो। कूटनीतिक स्तरको प्रयासले यसको समाधान भने यही वर्षमा निस्क्यो। भारतको सर्वोच्च अदालतले मुस्लिम समुदायमा कायम रहेको तीन तलाक अर्थात् छोडपत्रलाई असंवैधानिक ठहर गर्‍यो सन् २०१७ को अगष्टमा।

स्पेनमा क्याटलोनिया राज्यको विवादास्पद जनमत संग्रहले अलग राज्य बन्ने निर्णय गर्‍यो, अक्टोबरमा । तर निर्णय लागू हुन सकेन। केन्द्र सरकारले त्यहाँ हस्तक्षेप गर्न पुग्यो । साउदी अरेबियामा शुरु गरिएको भ्रष्टाचार विरोधी अभियानले राजपरिवारकै सदस्यहरुलाई समेत छोडेन सन् २०१७ मा। ११ जना राजकुमार, चारजना बहालवाला मन्त्री र दर्जनौं पूर्व मन्त्री पक्राउ परे ।

जिम्बावेमा ३७ वर्ष शासन गरेका राष्ट्रपति रोबर्ट मुगाबेले पदबाट राजीनामा दिन बाध्य भए, नोभेम्बरमा । पत्नी ग्रेस मुगावेलाई उत्तराधिकारी बनाउन गरिएका अनेक प्रयत्न विफल भएपछि शासन नै त्याग्नुपर्ने अवस्था आयो।

भारतमा कांग्रेसको विरासतमाथिको वषौंदेखिको अड्कलवाजीलाई चिर्दै राहुल गान्धी कांग्रेस आई पार्टीका अध्यक्ष सर्वसम्मत चयन भए नोभेम्बरमा। उनी कांग्रेस पार्टीको अध्यक्ष बन्ने नेहरु गान्धी परिवारको छैटौं सदस्य हुन्। सन् २०१७ को अन्त्यतिर राष्ट्रसंघ महासभाले जेरुसलेमलाई इजरायलको राजधानीको रुपमा मान्यता दिने अमेरिकी निर्णय अस्वीकार गर्‍यो। अमेरिकी निर्णयको विपक्षमा उभिने मुलुकलाई आर्थिक सहयोग नै रोक्ने ट्रम्पको धम्कीका बाबजुद भएको यो निर्णय ट्रम्प प्रशासनका लागि निकै ठूलो धक्का मानियो।

नेपालको सन्दर्भमा सन् २०१७ सालमा स्थानीय निकाय तथा प्रतिनिधिसभा र प्रदेशसभा दुई महत्वपूर्ण निर्वाचन संपन्न भयो। लामो समयदेखि जनप्रतिनिधिविहिन नेपालमा जनप्रतिनिधि पायो। तर, नेपाली जनताका जनप्रतिनिधिले नेपाली जनताले सोचेजस्तो कार्य भने यो बर्ष खासै गर्न भने सकेन।

यी र यस्ता थुप्रै घटनाक्रमको संगालो बनेर सन् २०१७ हामीबाट बिदा भएको छ। नयाँ वर्ष सन् २०१८ साल नयाँ उत्साह तथा उमंग बोकेर हामी समक्ष आइपुगेको छ। नयाँ बर्ष सन् २०१८ सालको सुखद उपलक्ष्यमा भिजन संसार डटकमका संपूर्ण आदरणिय पाठक वर्ग तथा शुभचिन्तक सवैलाई हार्दिक शुभकामना ।


प्रकाशन मिति–२०७४ साल पुष १६ गते आइतवार ।