काठमाडौँ । इजरायल र साइप्रसका लागि प्रस्तावित राजदूत डा.अन्जान शाक्यले इजरायलबाट अत्याधुनिक कृषि प्रविधि भित्र्याएर नेपाललाई कृषिमा आत्मनिर्भर बनाउन प्रयास गर्ने बताएकी छन्। संसदीय सुनुवाइ समितिमा आइतवार भएको सुनुवाइका क्रममा डा.शाक्यले उक्त कुरा बताएकी हुन्।

डा.शाक्यले २.३ प्रतिशत इजरायलीहरुले अत्याधुनिक प्रविधियुक्त कृषि पेशा गरी इजरायललाई कृषिमा आत्मनिर्भर बनाई बाहिर निर्यात गरिरहेको प्रसँग उल्लेख गरेकी छन्। त्यस्तै प्रविधि नेपालमा भित्र्याउन र नेपाललाई पनि कृषिमा आत्मनिर्भर बनाउन आफूले इजरायल सरकारसँग विशेष पहल गर्ने जिकिर पनि डा.शाक्यले गरेकी छन्।

संसदीय सुनुवाईका क्रममा उठेका प्रश्नहरुको जबाफ दिने क्रममा डा.शाक्यले इजरायल र साइप्रसका पर्यटक नेपालमा ल्याउन विशेष योजनाका साथ काम गर्ने प्रतिबद्धता जनाएकी छन् ।

इजरायलको मृतसागर र नेपालको गौरब तथा शान अनि विश्वको उच्च शिखर सगरमाथाको सम्बन्ध प्रचार गरेर नेपालमा इजरायलका पर्यटक प्रवद्र्धन गर्न कटिबद्ध बन्ने दावी पनि डा.शाक्यले गरेकी छन् । मृत सागरमा सगरमाथाको ढुंगा राखिएको छ भने सगरमाथाको आधार शिविरमाथि मृत सागरको ढुंगा ल्याएर मूर्ति बनाइएको छ। यसको प्रचारप्रसारले पर्यटक बढाउन सहयोग पुग्ने डा.शाक्यको भनाई रहेको छ।

इजरायलबाट अत्याधुनिक प्रविधि भित्र्याएर स्मार्ट सिटी, स्मार्ट कन्ट्री बनाउन विशेष पहल गर्ने पनि बताउंदै डा.शाक्यले नेपालसँग इजरायल र साइप्रसको सम्बन्ध अझ बढी मजबुत र प्रगाढ बनाउँदै आर्थिक तथा उद्योग वाणिज्य क्षेत्रमा थप सहायोग अभिबृद्धि गर्न आवश्यक प्रयास गर्ने पनि भनेकी छन्। उनले इजरायल र साइप्रसबाट प्रत्यक्ष लगानी नेपाल भित्र्याउन आफूले कूटनीतिक प्रयास गर्ने बताउँदै त्यहाँ कार्यरत नेपाली कामदारको सेवा,सुविधा बृद्धि तथा सुरक्षाका लागि काम गर्ने साथै थप नेपालीका लागि रोजगारीको अवसरको बढाउन इजरायल र साइप्रस सरकारसँग कुरा गर्ने बताएकी छन्।

हाल इजरायलमा चार हजार र साइप्रसमा तीन सय नेपाली कामदार कार्यरत छन् । नेपाल सरकारले परराष्ट्रविद् डा.शाक्यलाई इजरायलका लागि नेपालका आवासीय राजदूत तथा साइप्रसका लागि गैरआवासीय राजदूत नियुक्त गर्न सिफारिस गरेको हो । नेपाल सरकार मन्त्रिपरिषद्को कात्तिक २५ गते बसेको बैठकले डा। शाक्यलाई राजदूतमा सिफारिश गरेको थियोे।

इजरायल तथा साइप्रसका लागि राजदूत सिफारिस भएकी डा.शाक्यले व्यवस्थापन विषयमा विद्यावारिधि गरेकी छन् । परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानमा लामो समयसम्म काम गरी निमित्त कार्यकारी निर्देशकको जिम्मेवारीसमेत सम्हालिसकेकी डा.शाक्यले परराष्ट्र मामिलामा विशेष दखलता हासिल गरेकी छन्।

अन्तर्राष्ट्रिय सरोकार केन्द्रको अध्यक्ष भएर काम गरेको लामो अनुभव समेत रहेकी डा.शाक्य नेपाल महिला चेम्बर्स अफ कमर्सको अध्यक्ष भएर विदेशी लगानी नेपालमा भित्र्याउनका लागि प्रभावकारी भूमिका निर्वाह गर्ने कार्य गरेर प्रशंशा बटुलिसकेकी छन्।

लामो समयदेखि सोही क्षेत्रमा क्रियाशील डा.शाक्यले ‘नेपाल —चाइना रिलेसन, ‘नेपाल—इन्डिया रिलेसनल’, नेपाल–जापान सम्बन्ध लगायतका आधा दर्जन पुस्तक सम्पादन कार्य समेत गरिसकेकी छन । पद्मकन्या कलेजमा विसं.२०५२ सालदेखि करिब एक दशक प्राध्यापन कार्य समेत गरिसकेकी डा.शाक्यले अमेरिकी युनिभर्सिटी अन्तर्गतको पे्रसिडेन्सियल कलेजमा पनि प्राध्यापन गर्ने कार्य पनि गर्दै आएकी छन्।

‘यो मन्दिर, यो मस्जिद, यो चैत्य, यो गुम्बा, मलाई छ प्यारो सँधै आफू भन्दा’ बोल लगायत दर्जनौँ चर्चित राष्ट्रिय गीतका गायिका डा.शाक्यले डेढदशक अघि नेपाल टेलिभिजनको समाचार वाचिका भएर पनि काम गरेकी थिइन्।

बहुमुखी प्रतिभाका धनी,निडर, नेतृत्व गर्ने क्षमता र योग्यता भएकै कारण सक्षम महिलामध्येबाट डा.शाक्यलाई नेपाल सरकारले राजदूतमा सिफारिश गरेको हो।

प्रकाशन मिति–२०७५ साल मंसीर २३ गते आइतवार ।