काठमाडौं। इन्डोनेसिया आएको सुनामीमा परेर कम्तिमा २० जनाको मृत्यु भएको छ। सुन्डा स्ट्रेट तटीय क्षेत्रमा आएको सुनामीमा परेर उनीहरुको मृत्यु भएको हो। सुनामीमा परेर १ सय ६५ जना घाइते भएको त्यहाँको प्रकोप व्यवस्थापन एजेन्सीले जनाएको छ।

सुनामीका कारण दर्जनौं भवन भत्किएका छन्। सुन्डा स्ट्रेट खाडी आसपासको तटीय क्षेत्रमा ज्वालामुखी बिस्फोट भइ समुद्रभित्र पहिरो गएपछि सुनामी आएको आशंका गरिएको छ।

सुमात्रा र जावा द्वीपको बीचमा रहेको सुन्डा स्ट्रेट हिन्द महासागरसँग जोडिएको छ। सुनामीले सयौं सवारी साधनमा समेत क्षति पुर्‍याएको छ।

सडकसम्म पानी पसेकाले सवारी आवागमन बन्द भएको छ।
सुन्डा स्ट्रेट र आसपासका नागरिकलाई सुरक्षित स्थानमा सारिएको छ। नागरिकहरुलाई सचेत रहन सरकारले अपील गरेको छ।


(समाचार एजेन्सीको सहयोगमा)
प्रकाशन मिति–२०७५ साल पुष ८ गते आइतवार ।