काठमाडौं। नेपाल प्रहरीको आफ्नै स्रोत परिचालन गरी काठमाडौँ उपत्यकामा निगरानी बढाउन थप सिसी टिभी क्यामरा जडानका लागि प्रहरीले आवश्यक प्रक्रिया थालेको छ। सरकारी योजनाअनुसार क्यामरा जोड्न महानगरीय प्रहरी कार्यालय काठमाडौँले संवेदनशील क्षेत्रको पहिचान गर्ने काम थालेको हो।

स्थान पहिचानलगत्तै आन्तरिक स्रोतबाट ठेक्का आह्वान गरी पहिलो चरणमा ७५ स्थानमा क्यामरा जडान गर्ने तयारी गरिएको महानगरीय प्रहरी कार्यालय काठमाडौँले जनाएको छ।
काठमाडौं उपत्यकाका तीनै जिल्लाका आवश्यक क्षेत्रलाई सिसी क्यामेराबाट निगरानी गर्ने योजना अनुरुप कार्य भैरहेको प्रहरीले भनेको छ।

महानगरीय प्रहरी कार्यालय काठमाडौँले तीनै जिल्लाका संवेदनशील क्षेत्र पहिचान गरेर कति सिसी टिभी क्यामरा चाहिने हो त्यसको विवरण पठाउन महानगरीय ट्राफिक प्रहरी महाशाखा, महानगरीय प्रहरी परिसर काठमाडौँ, ललितपुर र भक्तपुरमा पत्राचारसमेत गरिसकेको छ।

विवरण आएपछि प्राथमिकताका आधारमा क्यामरा जडान हुने भएको छ। हाल काठमाडौँ उपत्यकामा ४ सय ६० को हाराहारीमा सीसी क्यामरा प्रयोग भइरहेको छ । काठमाडौँमा मात्रै ४ सय २ क्यामरा प्रयोगमा छ । भक्तपुरमा ३४ र ललितपुरमा २४ क्यामरा प्रयोगमा छन्।

मुख्यतः सिसी क्यामराको निगरानी महानगरीय प्रहरी कार्यालय काठमाडौँले गरिरहेको छ। विभिन्न क्षेत्रमा सञ्चार नेटवर्कसँग जोडेर नियन्त्रण कक्षबाट क्यामराको निगरानी हुँदै आएको छ।

यसका लागि ७२ वटा कन्ट्रोल रुप भेइकल (सिआरभी) को समेत प्रयोग गरिएको महानगरीय प्रहरी कार्यालय काठमाडौँले भनेको छ। सिसी क्यामराकै कारण धेरै आपराधिक गतिविधिको निगरानी तथा अपराधमा संलग्न व्यक्ति पक्राउ परेका उदाहरण छन्।

सवारी दुर्घटना गराएर फरार भएका चालक पक्रन र अदालतमा प्रमाण पेश गर्नसमेत प्रहरीका लागि सिसी क्यामराले ठूलो सहयोग गर्ने गरेको छ।
प्रकाशन मिति–२०७५ साल पुष ८ गते आइतवार ।