काठमाडौ। इस्लाम धर्मावलम्बीको महत्वपूर्ण पर्व ‘रमजान’आज शुक्रबार देखि शुरु भएको छ। अरबी पात्रोअनुसार नौ महिनामा पर्ने उक्त पर्व साउदी अरबमा अघिल्लो दिन चन्द्रमा देखिएपछि नेपालमा आजदेखि शुरु भएको छ।

एक महिनासम्म जारी रहने यस पर्वमा सूर्योदयदेखि सूर्यास्तसम्म निराहर बस्नुपर्ने प्रचलन छ। मुस्लिम धर्मावलम्बीले चन्द्रमा नदेखिएसम्म रोजा (व्रत) राख्न नमिल्ने हुँदा सूर्योदय अगाडि बिहानको खाना (सेरी) खाने तथा साँझ सूर्यास्तपछि फलाहार (इफ्तार) गर्छन् ।

धनी तथा गरीब दुवैथरी धर्मावलम्बीले रोजा बस्ने र पवित्र ग्रन्थ ‘नमाज’ वाचन गर्ने र अन्य धार्मिक गतिविधि गर्छन् । इस्लाम धर्ममा पाँच आधारस्तम्भलाई महत्वपूर्ण मानिन्छ । त्यसमा नमाज पढ्ने, रोजा बस्ने, हज (तीर्थाटन), जकात (दान) र कल्मा पर्छ ।

धनी मानिसले वार्षिक समग्र आम्दानीको २.५ प्रतिशत गरीब, दुःखी तथा असहायलाई दान गर्ने परम्परालाई जकात र इस्लाम धर्मका संस्थापक पैगम्बर मोहम्मद तथा उनका उपदेशलाई कल्मा भनिन्छ।

दैनिक पाँच पटक नमाज पढ्ने, नमाजअन्तर्गतको ‘तरबी’ ग्रन्थ वाचन गर्ने, नैतिकवान् भई अरुको सहयोगका लागि समर्पित हुने सन्देश रमजानले दिन्छ । धार्मिक सहिष्णुता र आपसी सद्भाव कायम गर्न रमजानको महत्व छ । धर्मावलम्बीले रमजान सकिएको एक महिनापछि इद पर्व मनाउँछन्।

प्रकाशन मिति–२०७५ साल जेठ ४ गते शुक्रबार ।