काठमाडौ। मुस्लिम धर्मावलम्बीको दोस्रो ठूलो महान पर्व बकर इद आज परेको छ। आज मुस्लिम धर्मावलम्बीहरु एकै ठाउँमा बसी नमाज पढेर चौपायालाई कुर्वानी अर्थात् बलि दिएर यस महान पर्व मनाउने कार्य भएको छ।

इब्राहिमले सपनामा आफ्नो छोरा इस्माइललाई अल्लाहको आदेशानुसार बली दिन जंगलमा लगेपछि छोरालाई बली चढाउन लाग्दा फेरि अल्लाहले इस्माइलको स्थानमा भेडाको थुम्बालाई राखिदिएको मुस्लिम धर्मावलम्बीको विश्वास छ।
यसरी बलि दिइएको दिन इस्लामिक पात्रो अनुसार १२औं महिना जिल हिज्जाको १० औं तारिखमा भएकाले यस दिन बकर इद मनाउने परम्परा सुरु भएको मानिएको छ।

आज बिहान स्नान गरी इद्गार वा मस्जिदमा गई मुस्लिम समुदायका भक्तजनहरुले सामूहिक नमाज पढेपछि एकअर्कालाई इद मुवारक भन्दै शुभकामना आदानप्रदान गरेका छन्। नमाज पढेपछि मुस्लिम धर्मग्रन्थ कुरानअनुसार खसी, बोका, राँगा, बाख्रा, भैंसी, भेडा र ऊँट आदि चौपायालाई बलि अर्थात् कुर्वानी दिने प्रचलन छ।

कुर्वानी दिएको मासु तीनभाग लगाई पहिलो भाग परिवारलाई, दोस्रो भाग इष्टमित्रलाई र तेस्रो भाग गरिब, दिनदुःखीलाई छुट्याउने परम्परा छ। नेपालमा मुस्लिम समुदायको बकर इदका अवसरमा प्रदेश नम्बर १ र ५ का सरकारले आज सार्वजनिक बिदासमेत दिएका छन्।
प्रकाशन मिति–२०७५ साल भदौ ६ गते बुधवार ।