काठमाडौं। काठमाडौं महानगरपालिकाको सहयोगमा डेढ महिने स्पेशल व्युटीपार्लर तालिम संपन्न भएको छ। संकल्प विकास केन्द्र नेपालको आयोजनामा व्युटीपार्लर तालिम संपन्न भएको हो। समापन समारोहमा छोटो समयमा राम्रो सीप सिक्न पाएकोमा सहभागी महिला दिदीबहिनीहरु अत्यन्त खुशी देखिएका थिए।

१८ जना महिला दिदीबहिनीहरुको सहभागिता भएको व्युटीपार्लर तालिमको सहभागीहरुलाई काठमाडौं महानगरपालिका सामाजिक विकास विभागका विभागीय प्रमुख सनत कुमार थापाले प्रमाण–पत्र वितरण गरेका थिए। प्रमाण–पत्र वितरण समारोहमा प्रमुख अतिथि थापाले छोटो अवधिमा महिला दिदीबहिनीहरुलाई सीपवान बनाउन संकल्प विकास केन्द्र नेपालले प्रभावकारी भूमिका निर्वाह गरेको बताएका छन्।

हातमा सीप भएपछि महिला दिदीबहिनी आफै स्वरोजगार बन्न सक्ने र घरैमा बसेर पनि व्युटीपार्लर उद्यमी बन्न सक्ने भएकोले यो अत्यन्त राम्रो उद्यमशील तालिम भएको जिकिर पनि प्रमुख अतिथि थापाको रहेको छ।

आयोजक संकल्प विकास केन्द्र नेपालकी संस्थापक अध्यक्ष शारदा श्रेष्ठले सिमित स्रोत तथा साधनवाट महिला दिदीबहिनीहरुलाई रोजगारमुखी तालिम प्रदान गर्दैआएको जानकारी दिदै यस व्युटीपार्लर तालिममा सहभागी महिला दिदीबहिनीहरुलाई सीपवान बनाउने कार्य गरेको बताएकी छन्।

तालिममा सहभागीहरु महिला दिदीबहिनीको तर्फवाट सचिना अधिकारी र बृहस्पति श्रेष्ठले तालिमका प्रभावकारी अनुभव र अनुभुति सुनाएका थिए। समापन समारोहमा सामाजिक अभियन्ता प्रकाश कुइँकेल, बरिष्ठ संचारकर्मी भरत बमजन, नामी साप्ताहिक र न्यूजमिसाइल डटकमका अध्यक्ष तथा प्रकाशक नारायण राई, प्रगति नेपालकी संस्थापक अध्यक्ष दुर्गा थापा र अभिनेत्री अनिता केसीको आतिथ्यता रहेको थियो।


प्रकाशन मिति–२०७५ साल फागुन २१ गते मंगलवार ।