काठमाडौं। जहाँ ट्राफिक जाम त्यहाँ सीताराम हाच्छेत्थुं भन्ने रामबाण उखान नै भएको छ। ट्राफिक प्रहरी इन्सपेक्टर सीताराम  हाछेथु जहाँ पोस्टिङ्ग हुन्छ–त्यहाँको ट्राफिक समस्या गजबले समाधान हुने रामबाण औषधि कसैसंग छ भने, त्यो सीताराम हाछेथुसंग मात्र रहेको छ।

ट्राफिक जामलाई गजबले समाधान गर्न सक्ने आफ्नैखाले खुबी बोकेका सीताराम हाछेथुको २९ बर्ष लामो ट्राफिक प्रहरीको जीवन निवृत भएको छ। अर्थात ट्राफिक प्रहरीवाट सीताराम हाछेथु रिटायर्ड बनेका छन्। त्यो पनि उमेरको कारण नभइकन सेवा अवधिको कारण हो। २९ बर्षको सेवा अवधि पुग्नासाथ रिटायर्ड हुनुपर्ने प्रावधान अनुरुप ५३ बर्षको उमेरमा सीताराम हाछेथुको रिटायर्ड भएको हो।

ट्राफिक प्रहरीमा असईवाट सेवा प्रारम्भ गरेर सई हुंदै ट्राफिक इन्सेपेक्टर बनेर रिटायर्ड बनेका हुन्। ट्राफिक प्रहरीमा जागिर खाएर लामो अवधि ट्राफिक प्रहरी नै बनेर रिटायर्ड बन्ने सीताराम हाछेथु संभवत नेपालको पहिलो ट्राफिक प्रहरी हुन्। २९ बर्षको ट्राफिक प्रहरीको सेवा अवधिमा २८ बर्ष त इन्चार्ज मात्र बनेका सीताराम हाछेथु एक बर्षमात्र सहायक बनेका थिए।

२९ बर्षको ट्राफिक जीवनमा ५४ जोर ट्राफिक ड्रेस लाएको बताउने सीताराम हाछेथुले यस अवधिमा ट्राफिक ड्रेसलाई अत्यन्त माया गरे। दशैमा टीका थाप्न ससुराली जाँदा समेत सीताराम हाछेथु ड्रेसमा नै जाने गर्दथ्ये। सिभिल ड्रेस अत्यन्त कमै मात्र लाउने गरेका सीताराम हाछेथुले सिभिल ड्रेस लाउन थालेको ट्राफिक प्रहरीवाट रिटायर्ड भएपछि मात्र हो।

२९ बर्षको सेवाअवधिमा काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनलाई चुस्त–दुरुस्त पार्न अत्यन्त गहन भूमिका निर्वाह गरेका सीताराम हाछेथुको अगुवाई तथा जनसहयोगमा कालिमाटी, कोटेश्वर, दरबारमार्ग र सातदोवाटोको ट्राफिक प्रहरी कार्यालयको भवन निर्माण भएको हो। धेरैजसो पोस्टिङ सीताराम हाछेथुको काठमाडौं उपत्यकामा नै भएतापनि काठमाडौं उपत्यका वाहिर दुई बर्षभने चन्द्रनिगाहपुर र पत्थलैयामा भयो।

यस अवधिमा राजादेखि राष्ट्रपति तथा प्रधानमन्त्रीसम्मवाट १ सय २९ विभिन्न उच्च सम्मान तथा पुरस्कार पनि पाएका सीताराम हाछेथुको अवको दिन भने ट्राफिक विज्ञ भएर विद्यालयहरुमा ट्राफिक जनचेतना अभिबृद्धि गर्ने कार्यमा निरन्तर लाग्ने भएका छन्। सरकारी तथा नीजि विद्यालयहरुमा विभिन्न विषयका शिक्षक भएतापनि ट्राफिक शिक्षक नभएकोले ट्राफिक जनचेतनाको अभिबृद्धिमा कमी भएको ठहर सीताराम हाछेथुको रहेको छ।

यसको लागि काठमाडौं उपत्यकाका विभिन्न विद्यालयहरुमा ट्राफिक शिक्षक बनेर भोलियन्टरी कार्य गर्ने सोच सीताराम हाछेथुले गरेका छन्। त्यसअनुरुप केही दिनमा नै तदारुकताका साथ लाग्ने र भोलिका कर्णधार विद्यार्थीहरुमा ट्राफिक जनचेतना अभिबृद्धि गर्न र गराउन सहयोगी भएर लाग्ने आफूले निर्णय नै गरेको सीताराम हाछेथुले भिजन संसार डटकमलाई भनेका छन्।

भक्तपुर सूर्यविनायकका स्थायी वासिन्दा सीताराम हाछेथु ट्राफिक जनचेतनाको अभावले नै ट्राफिक जाम भैरहेको खुलासा गर्ने उनी अव विद्यालयवाट बृहत जनचेतना अभिबृद्धि गर्ने महान कार्यमा होम्मिने तर्खरमा रहेका छन्।

यसवाट धेरैहदसम्म ट्राफिक जाम कम गराउन आफूले प्रभावकारी भूमिका निर्वाह गराउने सोच वोकेका सीताराम हाछेथुको हातमा नै ट्राफिक नियम पालना गरौं भन्ने स्लोगन नै खोपिएको छ। बाँचुञ्जेल ट्राफिक नियम पालना गर्न र गराउने कार्यमा लागिरहने प्रतिबद्धता पनि उनले व्यक्त गरेका छन्।

प्रकाशन मिति–२०७५ साल फागुन २१ गते मंगलवार ।