काठमाडौँ। उपन्यासकार अम्बिका अर्यालको पहिलो उपन्यास ‘अविश्रान्त’ सार्वजनिक भएको छ। काठमाडौँको कालिकास्थान स्थित सर्वनाम नाटकघरमा सार्वजनिकीकरण भएको हो।

गुञ्जन साहित्य संस्थाको आयोजनामा भएको उक्त कार्यक्रममा साहित्यकार कृष्ण धराबासी, कुमारी लामा, गुञ्जनका अध्यक्ष हिरण्यकुमारी पाठक र लेखक स्वयमले उक्त उपन्यास सार्वजनिक गरेका थिए। अन्तरक्रियात्मक शैलीमा भएको उक्त कार्यक्रममा साहित्यकार धराबासी र कुमारी लामाले यसका विषय र शैलीका पक्षका आ–आफ्नो विचार प्रस्तुत गरेका थिए।

पत्रकार मोहन बास्तोलाले सहजीकरण गरेको उक्त कार्यक्रममा धराबासीले समाजका यथार्थ पात्रहरुको जीवन्त घटना प्रस्तुत गरिएको विचार व्यक्त गर्दै यसमा प्रयोग गरिएको इ–प्रविधि, सर्जरीजस्ता नयाँ प्रविधिले उपन्यासलाई नयाँ विषयतिर उन्मुख बनाएको विचार व्यक्त गरेका थिए।

कुमारी लामाले यो उपन्यास नारीवादको वैचारिक दृष्टिले सबल भएपनि पुरुषप्रतिको परम्परागत समपर्णलाई परित्याग गर्न नसकेको प्रतिक्रिया व्यक्त गरिन् । उपन्यासकार अर्यालले उपन्यासमा पात्रहरु स्वतन्त्र रहेकाले तिनीहरुको भूमिकाअनुसार आफ्नो चरित्र निर्माण गरेको खुलासा गरेकी छन्।

गुञ्जनका अध्यक्ष पाठकले नारी साहित्यकारहरुको यस संस्थामार्फत् कार्यक्रम गर्न पाएकोमा खुसी व्यक्त गर्दै पहिलो प्रयासमा नै यस प्रकारको सशक्त उपन्यास प्रकाशन गर्न सकेकोमा बधाइज्ञापन गरिन् । उक्त उपन्यास साङ्ग्रिला बुक्सले प्रकाशन गरेको हो।


प्रकाशन मिति–२०७५ साल असोज १५ गते सोमवार ।