काठमाडौं। यो कुनै चित्रकारले कोरेको अति सुन्दर चित्र होइन्। यो त काठमाडौं महानगरपालिकाको वडा नंबर १४ मा पर्ने बल्खु जाने कुलेश्वरको मेनरोडको यथार्थ तस्बीर हो। यो तस्बीरलाई ख्यातिप्राप्त फोटोपत्रकार कविन्द्रमान शाक्यले खिचेका हुन।

हेर्दा कुनै चित्रकारले कोरेको चित्रभन्दा कम नदेखिएको यो तस्बीर आफै बोलिरहेको छ। काठमाडौंको मेन सडकको अवस्था र तिनको दुर्गतिको चित्रलाई यो फोटोले मज्जाले व्यंग्य गरेको छ। फोटोग्राफर कविन्द्रमानका अनुसार, कुलेश्वर क्षेत्रमा हप्तामा एकदिन त्यो पनि राति मात्र खानेपानी आउने गर्दछ।

त्यो खानेपानीको पाइप फुटेर आएको पानी थाप्न त्यहाँका स्थानीय मेन सडकमा पनि पानी लिन कसरत गरिरहेका हुन्। यो हप्ता त्यो क्षेत्रमा सडक विभागले सडक पिच गरेको हो। मंगलवार दिउंसो सडक पिच गरियो। त्यसको भोलिपल्ट बुधवार त्यो क्षेत्रमा खानेपानी आउने दिन थियो। बुधवार राति खानेपानी आउंदा खानेपानीको पाइप पहिला नै फुटिरहेको थियो।

त्यो फुटेको पाइपलाई नटालिकनै सडक विभागले त्यसमाथि मज्जाले सडक पिच गरिदियो। परिणाम भोलिपल्ट खानेपानी आउंदा त्यो फुटेको पाइप लाइनवाट फुटेको खानेपानीको मुस्लोले सडकको पिचलाई नै छेडेर निस्कियो। अनि त्यहाँ खानेपानी थाप्नेको लर्को नै लाग्यो। यता भोलिपल्ट विहीवार सडक विभागले त्यसरी फुटेको सडकमा फेरि सडक पिच गरेर गयो।

जव कि, त्यो फुटेको खानेपानीको पाइप लाइन नटालिकन सडक पिच गर्दा अव यो हप्ताको बुधवार राति पानी आउने दिन फेरि त्यसरी नै सडक फुटेर पानी नआउंला भनेर भन्न नसकिने कविन्द्रमानले भनेका छन्। यसप्रकारको काठमाडौं उपत्यका खानेपानी लिमिटेडको बेवास्ता र सडक विभागको लापरवाहीले सडकको दुरावस्था आएको जिकिर कविन्द्रमानको रहेको छ।

खानेपानीको पाइप लाइनको राम्ररी मर्मत नगरिकन सडक पिच गरेपछि बारम्बार यस्तै हुने निश्चित छ। यसमा सरोकारवालाहरुले ध्यान दिन अत्यन्त जरुरी रहेको सर्वसाधारण सवैको धारणा रहेको छ।
प्रकाशन मिति–२०७५ साल असोज १५ गते सोमवार ।