काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गी श्रेष्ठले पिसिआर परीक्षण गरेकी छन्। मेयर विद्यासुन्दर शाक्यका साथमा कालिमाटी तरकारी तथा फलफुल बजार क्षेत्रमा कोरोना संक्रमण फैलिनवाट बचाउन गरिएको -यापिड डाइग्नोष्टिक परीक्षण (आरडिटि) र पोलिमेयर चेन रियाक्सन (पिसिआर) परीक्षण अनुगमनका क्रममा पुगेकी उपमेयर श्रेष्ठले पिसिआर परीक्षण गरेकी हुन।

पिसिआर परीक्षणको रिपोर्ट भने भोलिमात्र आउने जानकारी उपमेयर श्रेष्ठले भिजन संसार डटकमलाई बताएकी छन्। भिजन संसार डटकमसंगको विशेष कुराकानीमा उपमेयर श्रेष्ठले कोरोनाको संक्रमणवाट काठमाडौं महानगरलाई बचाउन आफूहरु अत्यन्त क्रियाशील भैरहेको भनेकी छन्।

काठमाडौं महानगर छिर्ने मूलनाका थानकोटको नागढुंगा देखि बनेपाको साँगा भञ्ज्याङ नाकासम्म व्यापक अनुगमनमा पुगेकी उपमेयर श्रेष्ठ कोरोनाको कहरमा काठमाडौंंलाई जोगाउन सवै नाकामा सिल गर्नुपर्ने अत्यन्त आवश्यक भएको जिकिर गर्छिन्।

नाका सिल गरिएन भने, चोर वाटोवाट रातारात काठमाडौं महानगरमा प्रवेश गर्नेहरुले कोरोनाको संक्रमण फैलाउने अत्यन्त डर भैसकेको र त्यसको लागि मेयर देखि सिडिओसम्मलाई आफूले अनुरोध गरिसकेको जानकारी उपमेयर श्रेष्ठले दिएकी छन्। त्यसतर्फ सजकता र तदारुकता नदेखाएकोमा आफूलाई ज्यादै पिर लागिरहेको उपमेयर श्रेष्ठको दुःखेसो रहेको छ।

त्यसैगरेर, काठमाडौं महानगरपालिकाले कोरोनाभाइरसको शंकास्पदहरुलाई क्वारेन्टाइनमा राख्नका लागि आवश्यक क्वारेन्टाइनको हालसम्म व्यवस्था नै नभएको पनि खुलासा गरेकी छन्। महानगरपालिकासंग जोडिएका प्राय नगरपालिकाले क्वारेन्टाइनको व्यवस्था गरेको अवस्थामा महानगरपालिकामा क्वारेन्टाइन नहुनु अनौठो भएको छ। क्वारेन्टाइन बनाउन अत्यन्त जरुरी भएको भनेर कार्यपालिका लगायतका अनेक मिटिङमा आवाज उठाउंदा पनि त्यसको सुनुवाई नभएको तितो यथार्थ पनि उपमेयर श्रेष्ठले पोखेकी छन्।

लकडाउन भएयता नियमित रुपमा बागदरवार स्थित कार्यालयमा नियमित गैरहेको र आफूले गर्नुपर्ने काम–कारवाहीमा कुनै कमी नगरेको भनेकी छन्। महानगरवासीलाई कोरोनाको संक्रमणवाट बचाउन आफूले अहोरात्र काम गर्न कुनै कमी नगर्ने पनि उपमेयर श्रेष्ठले भिजन संसार डटकमलाई बताएकी छन्। उपमेयर श्रेष्ठले महानगरवासी आफै सचेत रहेर जिल्ला वाहिरवाट आउनेहरुलाई कोरोना टेष्ट गराएर मात्र घरमा प्रवेश गर्न र गराउन अनुरोध गरेकी छन्।


प्रकाशन मिति–२०७७ साल जेठ १ गते विहीवार ।