कविता
–प्रज्ज्वल घिमिरे


अन्धकारमा
उज्यालोको
हैसियत खुम्चिएर
देखिएका दृश्यहरु
नयनमा अटाउन नसकी
कानले देखेर
लजाएको समय
म हतारिदै
मान्छे
खोजिरहेको छु
मान्छेहरु वीच
अनुहार विहीन
समाजको वकालत
गर्नेहरुको सुन्दरता
कुरुपतामा बल्झेर
तडक–भडकमा अल्झिएर
पोखिएको तरंगसंगै
कुदन नसकी
गन्तव्य विर्सिएकाहरुसंग
म भनिरहेको छु-
तिमी त्यहाँ छौ
जहाँ म छैन
म जहाँ छु
तिमी त्यहाँ छैनौं
आकाश र पाताल जस्तो
ए मान्छेलाई भुलेका मनहरु
खर्चिएका धनहरु
पर्ख, सुन र हेर
तिमीहरुको पाइला
तिमीहरुले नै देखेका छैनौं
उज्यालो भनेर
तिमीले देखेको
सूर्यलाई पत्याउंदा
औशीले छोपेर
तिमी नयन सहित
अन्धो किन हु्न्छौ ?
दृष्टिविहिनहरुले न्याय पर्खिरहेको समयमा !

प्रकाशन मिति २०७९ साल असोज १७ गते सोमवार ।