काठमाडौं। नेपालमा पहिलो पल्ट बृहत गणेश पूजा संपन्न भएको छ। तिकिझ्या साप्ताहिक संरक्षण कोष स्थापनार्थ तिकिझ्या साप्ताहिकले काठमाडौंमा बृहत गणेश पूजाको आयोजना गरेको हो।

काठमाडौंको मरुहिटी भगवतीबारी स्थित शान्ति निकुञ्ज स्कुलको खेल मैदानमा शनिवार आयोजित गणेश पूजा कार्यक्रममा १ हजार ८ बालकहरुको गणेश पूजा गरिएको हो। १२ बर्षसम्मका बालकहरुलाई भेला गरेर उनीहरुको अभिभावकको रोहवरमा गणेशको प्रतिकको रुपमा उनीहरुलाई पूजा गरिएको हो।

पूजामा बज्राचार्य समुदायका सात गुरुहरुले पूजाआजा गरेर हालसम्मकै बृहत पूजा भएको गुरुदेव प्रचण्ड बज्राचार्यले भिजन संसार डटकमलाई बताएका छन्। त्यसैगरेर,यो गणेश पूजामा सवै जातजातिका बालकहरुको सहभागिता रहेको र पूजामा सवैको अत्यन्त उत्साहजनक उपस्थिति भएको आयोजक तिकिझ्या साप्ताहिक संरक्षण कोषका अगुवा सन्त महर्जनले बताएका छन्।

अगुवा महर्जन यसप्रकारको भव्य पूजाले बालकहरुमा परम्परा र संस्कृतिप्रति लगाव तथा भविष्यपर्यन्त जगेर्ना गर्ने सोचमा अभिप्रेरणा दिने भन्छन्। आगामी बर्षहरुमा पनि यसप्रकारका सामाजिक उत्थान र परम्पराको जगेर्ना गर्ने कार्यहरुको कुम्भ मेला गर्दैजाने आफूहरुले अठोट लिएको पनि महर्जनको भनाई रहेको छ।

Photo By-Asha Kaji Maharjan

प्रकाशन मिति–२०७५ साल भदौ ३० गते शनिवार ।