काठमाडौं। काठमाडौं उपत्यकाभित्र नै मोबाइल फोन सेवा गुणस्तरीय हुन नसकेको देखिएको छ। दूरसञ्चारको नियगमन निकाय नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको मोबाइल फोनको गुणस्तर परीक्षण प्रतिवेदनअनुसार मोबाइल सेवा गुणस्तरीय नभएको पाइएको हो।प्राधिकरणले नेपाल टेलिकम, एनसेल र स्मार्ट टेलिकम गरी तीन सेवा प्रदायक कम्पनीको मोबाइल सेवाको गुणस्तर परीक्षण गरेको थियो ।

तीन कम्पनीका नेटवर्कभित्र गत पुस १६ गतेदेखि २७ गतेसम्म ११ दिन कलमा लाग्ने समय र कल स्थापित हुन लाग्ने दर परीक्षण गरेको प्राधिकरणले जनाएको छ । परीक्षण अध्ययनमा कल गर्दा लाग्ने समय र कल स्थापना हुने सफलताको दरमा सबैभन्दा अगाडि एनसेल देखिएको छ ।

प्रतिवेदनअनुसार एनसेलको कल स्थापना हुन लाग्ने समय ६ दशमलब ४४ सेकेन्ड रहेको छ। प्राधिकरणले तोकेको कल स्थापना हुन लाग्ने समय पाँच सेकेन्ड वा त्योभन्दा कम हुनुपर्छ। अन्य दुई कम्पनीको तुलनामा एनसेल अगाडि भए तापनि प्राधिकरणले तोकेको न्यूनतम मापदण्डमा कुनै पनि कम्पनी परेका छैनन् ।

यस्तै कल स्थापना हुने कल सफलताको दर एनसेलको ९६ दशमलव १५ प्रतिशत छ । प्राधिकरणले तोकेको कल स्थापना हुने सफलताको दर ९९ प्रतिशत वा सोभन्दा धेरै हुनुपर्छ। नेपाल टेलिकमको कल स्थापना हुन लाग्ने समय ९ दशलमब ५९ सेकेन्ड देखिएको छ भने कल स्थापना हुने सफलताको दर ७७ दशमलव ४२ प्रतिशत रहेको प्रतिवेदनमा जनाइएको छ।

यस्तै, स्मार्ट टेलिकमको कल स्थापना हुने समय १२ दशलमब १७ सेकेन्ड रहेको छ भने कल स्थापना हुने सफलताको दर ८२ दशमलव ७६ प्रतिशत रहेको छ। कल ब्लक दर दुई प्रतिशतभन्दा कम हुनुपर्नेमा तीनवटै सेवा प्रदायकको यस्तो दर बढी नै देखिएको छ। औसतमा एनसेलको आठ प्रतिशत, नेपाल टेलिकमको ११ प्रतिशत र स्मार्ट टेलिकमको २८ प्रतिशत देखिएको प्रतिवेदनमा जनाइएको छ ।
प्रकाशन मिति–२०७८ साल फागुन ५ गते विहीवार ।