काठमाडौं। नेपालीहरुको महान पर्व दशैं नजिकिंदै गर्दा काठमाडौं महानगरपालिकाले काठमाडौं भित्रिने खसी–बोका–राँगाको स्वास्थ्य परीक्षण गर्ने भएको छ। काठमाडौं महानगरपालिकाले विशेष गरी काठमाडौं भित्रिने पशुपंक्षीको स्वास्थ्य परीक्षणलाई तीव्रता दिने जनाएको छ।

महानगरपालिकाले राजधानी भित्रिने खसी, बोका, राँगा, भैंसी स्वस्थ छन् कि छैनन् भनेर परीक्षण गर्ने र यसरी परीक्षण गरेका जनावरको सिङमा दुई प्रकारका रंग लगाउने तयारी गरेको छ। महानगरपालिकाले हरियो चिन्ह लगाए स्वस्थ र रातो चिन्ह लगाए अस्वस्थ हुने भएकाले सोही अनुरूप खसी, बोका खरिद गर्न सर्वसाधारणलाई आग्रह गरेको छ।

धेरै संख्यामा खसीबोकाको खरिद बिक्री हुने भएकाले दशैँमा राजधानी भित्रिने सबै खसीबोकाको स्वास्थ्य परीक्षण गरिन लागेको हो। काठमाडौं महानगरपालिका जनस्वास्थ्य विभागका प्रमुख हरिकुमार श्रेष्ठका अनुसार  कलंकी, कोटेश्वर, बागबजार र बिजुली बजारस्थित खसीबोका बिक्री केन्द्रमा खसीबोकाको स्वास्थ्य परीक्षण हुनेछ।

खसीबोका व्यवस्थापन समिति, ४ क्षेत्रका व्यापारी र सरोकारवालासँग छलफल गरी बिक्री केन्द्रलाई व्यवस्थित गर्ने तयारी समेत काठमाडौं महानगरपालिकाले गरेको छ । व्यापारीहरुलाई महानगरले खसीबोकालाई राख्ने स्थान सफा राख्न निर्देशन समेत दिएको छ।
प्रकाशन मिति–२०७५ साल असोज ७ गते आइतवार ।