काठमाडौ। काठमाडौ क्षेत्र नंबर ९ (क) प्रदेशका अत्यन्त लोकप्रिय उम्मेदवार डा.अजयक्रान्ति शाक्यको घरदैलो कार्यक्रममा जन–लहर नै उर्लेको छ।

शनिवार विहान आयोजित काठमाडौको कोर एरिया लगनटोल, भोटेवहाल, टेकु, ब्रम्हटोल लगायतका स्थानमा भएको घरदैलो कार्यक्रममा उर्लदो जनलहरले प्रदेशसभाका उम्मेदवार डा.अजयक्रान्ति शाक्य लगायत प्रतिनिधिसभाका उम्मेदवार कृष्णगोपाल श्रेष्ठलाई जितको आशीर्वाद दिने स्थानीयहरुको भीड नै लागेको थियो।

त्यसमाथि, काठमाडौ महानगरपालिकाका कर्मशील मेयर विद्यासुन्दर शाक्य आफै यस घरदैलो कार्यक्रममा डा.शाक्य र श्रेष्ठको पक्षमा भोट माग्दै सवैसंग हात मिलाउंदै नमस्कार गर्दै हिंडेका थिए। घरदैलो कार्यक्रममा आफ्नै घर–आँगनकै उम्मेदवार डा.शाक्य र श्रेष्ठ पाउंदा मतदाताहरु पनि अत्यन्त दंग परेका थिए।

जन–चाहनालाई अत्यन्त नजिकवाट बुझेका बाम एकताका यी उम्मेदवारहरु प्रति काठमाडौ क्षेत्र नंबर ९ (क) का मतदाताहरु आकर्षित बनेको र उनीहरुको जित निश्चित जस्तो भएको यो तरंगले अनुमान गर्न सक्ने भएको घरदैलो कार्यक्रममा सहभागी काठमाडौ महानगरपालिका वडा नंबर १४ की वडा अध्यक्ष शोभा सापकोटा र १२ नंबरका वडा अध्यक्ष विकास डंगोलको दावी रहेको छ।

अर्कोतर्फ भोटेवहालका ७२ वर्षका स्थानीय बरिष्ठ नागरिक रत्नबहादुर डंगोलले उम्मेदवार डा.शाक्य र श्रेष्ठलाई हँस्याङफस्याङ गर्दै खादा,अविर र माला लगाइदिदै मेयर र दुबै उम्मेदवारलाई पालैपालो कसिलो गरी हात मिलाए। अनि भने– ‘मेयरलाई जिताएर पठायौँ । अब जित्ने पालो तपाईँहरुको ।’ दुबै उम्मेदवार मुसुक्क हाँसेपछि फेरि डंंगोलले थपे–‘जितेर गएपछि हामीलाई माया नमार्नु होला नि ? यो खादा, अविर र माला मैले तपाईँहरुलाई त्यसै लगाएको होइन । जितको अग्रिम शुभकामना पनि हो।’

कुर्सीको राजनीतिबाट दिक्क बनेका रत्नले सञ्चारकर्मीसँग पनि समृद्धिको आशा अझै नमरेको भावना व्यक्त गरे। ‘देशलाई समृद्ध बनाउने भन्दा पनि कुर्सीका लागि मात्रै लडाईँ बढी भयो,’ उनले भने, ‘कुर्सीकै लागि देश नै बेच्ने हुन कि भन्ने डर भै सक्यो । एक पटक वामपन्थीको नेतृत्वमा स्थायी सरकार हेर्ने रहर छ।’

रत्नबहादुरसँगै छेउमा उभिएकी ७२ वर्षीया मिश्रि डंगोलले पनि तीनै जनालाई पालैपालो खादा, माला र अविर लगाएर जितको शुभकामना दिएकी थिइन् । आफ्नै घरदैलोमा जनप्रतिनिधि आएपछि उत्साहित बनेकी मिश्रिले भनिन्– ‘भोट माग्दा विकास गर्छौ भन्दै आए, भोट दिएपछि कसैको पनि मुखसम्म देख्न पाइएन् । वृद्धवृद्धाको सम्मान गर्ने एमालेले एक पटक सरकार बनाउन पायो भने केही गर्छ कि भन्ने आशा पलाएको छ । त्यही भएर यो पटक हाम्रो भोट सूर्यलाई।’

मिश्रिले त्यसो भनेपछि र्यालीमा गोलो घेराभित्र हँसिया–हतौडा अंकित झण्डा बोकेका एक युवाले मुख खोलिहाले–‘समानुपातिकमा चाहिँ हँसिया–हतौडामा भोट हाल्न नभुल्नु नि आमा ?’ ती युवालाई जवाफ फर्काउँदै रत्न र मिश्रीले एकै स्वरमा भनेका थिए–‘अब पाँच वर्ष कम्युनिष्टले सरकार चलाउने हो, तपाईँहरु अहिले जसरी मिलेर घरदैलोमा आउनु भएको छ । त्यसैगरी पाँच वर्ष मिलेर सरकार चलाउनुहोला । हामीलाई एक पटक कम्युनिष्टले स्थायी सरकार चलाएको हेर्ने रहर छ।’

रत्न र मिश्री मात्र होइन शनिबार वाम गठबन्धनले काठमाडौँको वडा २१ का लगन, भोटेवहाल, जैसीदेवल, टेकुलगायतका विभिन्न स्थानमा घरदैलो गर्दा वृद्ध–वृद्धा, युवा, व्यापारी, वुद्धिजिवी सबैले स्थायी सरकारको अपेक्षा गरे।
वडा नम्बर–२१ काठमाडौँ महानगरका मेयर शाक्यको घर भएको क्षेत्र भएकाले पनि हुनसक्छ। त्यहाँ वाम गठबन्धनका पक्षमा निकै राम्रो माहोल देखियो।

सयौँ सहभागी रहेको र्यालीमा घरका छत, झ्याल र पसलहरुबाट पनि हात हल्लाइरहेका दृष्यहरु निकै रोचक देखिन्थे । मेयर शाक्यकै निवास नजिक रहेको जैसी देवल आसपासको क्षेत्रमा सडक पुर्ननिर्माण भैरहेको थियो । त्यहाँ केही मजदुर आफ्नै सुरमा काम गरिरहेका थिए। वाजागाजा र झण्डासहित र्याली जब ती मजदुरको छेउमा पुग्यो उनीहरु पनि टक्क उभिएर र्याली निहाल्न थाले। त्यसैबेला उम्मेदवारहरु डा.शाक्य र श्रेष्ठ मात्र होइन मेयर शाक्यले पनि ती मजदुरसँग हात मिलाए।

एकछिन अलमलमा परेका मजदुरले मुसुक्क हाँस्दै हात मिलाए र एक–दुई वटा तस्बिर पनि खिचाए। त्यसैबेला मेयर शाक्यले भने– ‘काममा त्यस्तो केही समस्या भएको छ कि ? छ भने भन्नुहोला, मलाई चिन्नु भएको छ ?’ एक मजदुरले मुसुक्क हाँस्दै भने–‘हजुर यही क्षेत्रको मेयर त हो नि किन नचिन्नु।’

मेयर फेरि मुस्कुराए। उम्मेदवार डा.शाक्य र श्रेष्ठले पनि ती मजदुरहरुसँग तस्बिर खिचाए। बाजागाजा सहित भएको यस घरदैलो कार्यक्रमको रौनकता देखेर करुवा चिन्ह लिएर नेपाली कांग्रेसको बागी उम्मेदवारको रुपमा देखा परेका नेपाली कांग्रेस बीपी समर्थक उम्मेदवार तथा कार्यकर्ताहरु पनि रमाइलो मान्दै हेर्दैगरेको पाइएको थियो।
प्रकाशन मिति–२०७४ साल मंसीर ९ गते शनिवार ।