मनाङ । सात बर्षअघि मात्र काठमाडौंमा आएर एकल महिला अचार तालिम कार्यक्रममा तालिम लिएर फर्केका कान्छी गुरुङ यतिखेर हिमालपारिको जिल्ला मनाङमा सफल अचार तालिम प्रशिक्षक नै बनेकी छन्।

मनाङको नासो गाउंपालिका वडा नंबर १ निवासी कान्छी गुरुङ सात बर्षअघि काठमाडौंको अनामनगरमा घरेलु तथा साना उद्योग कार्यालयको सहकार्यमा संकल्प विकास केन्द्र नेपालले आयोजना गरेको एक हप्ते अचार वनाउने तालिम लिएर मनाङ फर्केपछि अचार व्यवसाय नै शुरु गरेकी हुन।

काठमाडौंंमा सिकेको अचार तालिमलाई मनाङमा आएर व्यवसायको रुपमा शुरु गरेकी कान्छी गुरुङको जीवनमा नयाँ आयामको रुपमा अचार तालिम प्रशिक्षकको रुपमा अफर आएपछि यसमा पनि निरन्तरता दिन थालेकी उनी मनाङ जिल्लामा अचार तालिम प्रशिक्षकमा अब्बल नै बनिन्।

श्रीमानको देहान्त पश्चात परिवार पाल्नका लागि अचार तालिमवाट आफूलाई अचार उद्यमी वनाएको र यतिखेर अचार तालिम प्रशिक्षक भनेर चिनाएको वताउने कान्छी गुरुङ आफूलाई यसरी सक्षम वनाउने काठमाडौंको संकल्प विकास केन्द्र नेपाललाई सदा सम्झिने गर्छिन्।

संकल्प विकास केन्द्र नेपालको गुणलाई आफूले कहिले पनि नविर्सने वताउंछिन्। उनै कान्छी गुरुङले घरेलु तथा साना विकास समिति मनाङको आयोजनामा केही दिनअघि मनाङमा भएको अचार तथा च्याउखेती तालिममा पनि कुशल प्रशिक्षक बनेर प्रशंशा पत्र नै पाएकी छन्।

३४ जना स्थानीय महिलाहरुलाई अचार तथा च्याउखेती तालिम दिएर सक्षम वनाउने कार्य कान्छी गुरुङवाट भएको छ। कान्छी गुरुङ मनाङमा अचार तालिमको गुरुआमा भनेर सवैले पूज्ने गरेका छन्।
प्रकाशन मिति–२०७७ साल साउन ३ गते शनिवार ।