काठमाडौं। कोरोनाभाइरस (कोभिड–१९) का कारण कतारमा रोजगारी गुमाएका नेपाली श्रमिकले कतारमा नै रोजगारी पाउने भएको छ । कतार सरकारले बेरोजगार श्रमिकलाई रोजगारी दिने नीति ल्याएपछि त्यहाँ रहेका नेपालीहरुले पुनः रोजगारी पाउने मौका मिलेको हो। कतारस्थित नेपाली दूतावासका अनुसार त्यहाँ श्रमिकको अभाव भएपछि कतारले यस्तो नीति ल्याएको हो ।

‘अब रोजगारी गुमेकै कारणले नेपालीहरू घर फर्कनु पर्दैन,’ कतारका लागि नेपाली राजदूत नारदनाथ भारद्वाजले भने, ‘जसको कम्पनी बन्द भएको छ वा रोजगारी गुमेको छ, उसलाई कतार सरकारले नै सीप र दक्षताका आधारमा रोजगारी उपलब्ध गराउनेछ ।’

करार अवधि समाप्त भएपछि नेपालीहरू नेपाल फर्किन पाएका छैनन् । आवासीय अनुमतिपत्र नवीकरण हुन नसक्दा स्वदेश फिर्तीमा समस्या भएको छ । उनीहरूमध्ये घर फर्कनका लागि २१ हजार २ सय २१ जनाले दूतावासमा नाम दर्ता गरिसकेका छन् । त्यसको झन्डै ५० प्रतिशत श्रमिकले रोजगारी गुमाएको राजदूत भारद्वाजले बताएका छन्।

‘उहाँहरूलाई नेपाल फर्कन मन छैन र अर्को कम्पनीमा रोजगारी गर्ने इच्छा छ भने यहीं काम गर्न पाउने वातावरण बनेको छ । हामीले पनि यो अवस्थामा स्वदेश फर्कनुभन्दा यहीं काम गर्न प्रोत्साहन गरिरहेका छौं,’ उनले भने, ‘दूतावासले त्यसका लागि आवश्यक कागजात बनाइदिन सहयोग गर्नेछ ।’

असोज ३ गतेसम्म ९ हजार एक सय ७१ जना नेपाल फर्किसकेका छन्। सबैभन्दा बढी सेवा क्षेत्र, ढुवानी तथा मझौला कम्पनीमा कार्यरत नेपालीको रोजगारी गुमेको छ । खाद्य तथा आवास समस्या भएका, तलब भुक्तानी नपाएका वा प्राप्त गर्नेहरूको पनि कटौती हुने श्रमिकको संख्या कतारमा उल्लेख छ । खान नपाएका ७ हजार नेपालीलाई कतार च्यारिटीले नेपाली दूतावास र एनआरएनएमार्फत खाना उपलब्ध गराएको छ ।

कतारको प्रशासनिक विकास, श्रम तथा सामाजिक मामिला मन्त्रालयले रोजगारी गुम्नेहरूका लागि रोजगारी दिलाउन एउटा संयन्त्र बनाएको छ । संयन्त्रमा श्रमिक खोज्ने रोजगारदाता कम्पनी र रोजगारी खोज्ने श्रमिकले सम्पर्क गर्नेछन् । ‘अहिले नेपालबाट नयाँ श्रमिक ल्याउने माग भएको छैन । ल्याइहाल्ने अवस्था पनि बनेको छैन,’ राजदूत भारद्वाजले भने, ‘यहीं भएका श्रमिकलाई नै समायोजन गर्ने नीति ल्याइएको हो । यसले लाखौं ऋणको भारी बोकेर स्वदेश फिर्न बाध्य श्रमिक वर्गलाई पनि सम्बोधन गरेको छ ।’

श्रम मन्त्रालयले श्रमिकसँग सहजीकरण गर्न गैरआवासीय नेपाली संघ कतारलाई पनि अनुरोध गरेको छ । ‘श्रम मन्त्रालयको यो नीति नेपाली श्रमिकका लागि निकै महत्त्वपूर्ण छ । जसको भिसाको म्याद समाप्त भइसकेको छ वा जरिवाना तिर्नुपर्नेछ, उनीहरूका लागि पनि नयाँ रोजगारीको प्रबन्ध मिलाइएको जानकारी हामीलाई दिइएको छ,’ एनआरएन कतारका अध्यक्ष मुक्तदा आलम मुसलमानले भने, ‘श्रमिकले जरिवाना पनि तिर्नु पर्दैन । बेरोजगार भएका नेपालीले मन्त्रालयले तोकेको फाराम भरेर पठाइदिए मात्रै पनि पुग्छ ।’

श्रमिकको प्रमुख गन्तव्य कतारमा ३ लाख ५१ हजार नेपाली कार्यरत छन् । नयाँ नेपाली श्रमिक आउन नपाएको र त्यहीं रहेका पनि स्वदेश फिर्न बाध्य भएमा कतारबाट नेपाल आउने रेमिट्यान्समा असर पुग्ने श्रमविज्ञ गणेश गुरुङ बताउँछन् । नेपाल राष्ट्र बैंकका अनुसार कतारबाट वार्षिक झन्डै ७७ करोड अमेरिकी डलर रेमिट्यान्स आउने गरेको छ । वैदेशिक रोजगार विभागका अनुसार पछिल्लो ५ वर्षभित्र वैदेशिक रोजगारीमा जानेमध्ये सबैभन्दा बढी ३२.९२ प्रतिशत नेपाली कतार गएका छन् ।


(कान्तिपुर दैनिकको सहयोगमा)
प्रकाशन मिति–२०७७ साल असोज ६ गते मंगलवार ।