EPS Koreaकाठमाडौ। रोजगार अनुमति प्रणाली (ईपीएस) कोरियाले शनिवार र आइतवार गरेर दुई दिन लिएको कोरियाली भाषा परीक्षाको नतिजा यही आउने असार १६ गते सार्वजनिक गर्ने भएको छ । दुई दिन सञ्चालन भएको परीक्षामा आवेदन फारम भर्ने ७५ हजार ५ सय ८० परीक्षार्थी मध्ये ८० देखि ९० प्रतिशतले भाषा परीक्षा दिएको शाखाका प्रमुख बाबुराम खतिवडाले बताएका छन्।

शाखाको गल्तीका कारण २६ नम्बर परीक्षा केन्द्रमा शनिवार भने ४ सय ३३ जना परीक्षार्थीले भाषा परीक्षा दिन नपाएको खतिवडाले भनेका छन्। परीक्षा दिन बन्चितका लागि शाखाले छिट्टै परीक्षा लिने तयारी पनि गरिरहेको छ। कोरियाबाट आएका परीक्षा सञ्चालक टोली पनि सकारात्मक रहेको हुँदा अबको एक सातापछि परीक्षा सञ्चालन हुने गरी मिति र केन्द्र तोकिने खतिवडाले बताए। यसबाहेक परीक्षा सञ्चालन अवधिका कुनै समस्या नआएको शाखाको भनाइ छ।

सन् २०१८ मा कोरियामा काम गर्न जानका लागि १० हजार २ सयले अवसर पाउने छन्। जसमा ६ हजार दुई सय कृषि र ४ हजार उत्पादनमा काम गर्ने गरी कोरियान जाने शाखाले जनाएको छ । परीक्षाका लागि ७५ हजार ५ सय ८० ले आवेदन दिएका थिए। जसमा परीक्षार्थी ९ हजार ७ सय ९६ महिला परीक्षार्थी र ६५ हजार ७ सय ८४ पुरुष परीक्षार्थी छन्। यसैगरी कृषिमा ५१ हजार २ सय २ र उत्पादनमा २४ हजार ३ सय ७८ जनाले आवेदन दिएका थिए।

शाखाले २६ वटा परीक्षा केन्द्रमा विहान ८ बजेर दिउँसो १२ बजे गरी दुई सिफ्ट लिएको थियो । परीक्षा सञ्चालनका लागि कोरियावाट ५५ जनाको टोली नेपालमा आएका थिए। सन् २००८ देखि अहिलेसम्म ४४ हजार भन्दा बढी युवा कोरिया पुगिसकेका छन्।
प्रकाशन मिति–२०७४ साल जेष्ठ २८ गते आइतवार ।