इजरायल। कोरोनाको कहर विषयमा इजरायलका लागि नेपाली राजदूत डा. अञ्जान शाक्यको नेपालका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसंग अन्तरक्रिया भएको छ।

परारष्ट्र मन्त्री ज्ञवालीको अलावा परराष्ट्र सचिव, खाडी क्षेत्रका मुलुकहरुस्थित नेपाली नियोगका महामहिम राजदूत–नियोग प्रमुखहरु तथा परराष्ट्र मन्त्रालयका उच्च अधिकारीहरु सम्मिलित भिडियो कन्फरेन्समा राजदूत डा.शाक्यवीच अन्तरक्रिया भएको हो।

अन्तरक्रियात्मक उक्त भिडियो कन्फरेन्समा राजदूत डा.शाक्यले ईजरायल र साईप्रसको कोरोना संक्रमणसम्बन्धी तथ्यांक, नेपालीहरुको अवस्था, नेपालीहरुमा कोरोनासँगै देखिएका समस्याहरु–नकारात्मक प्रभावहरु, अब उत्पन्न हुन सक्ने समस्याहरु, दूतावासको हालको सेवा प्रवाह, यस समयमा दूतावासमा सम्पर्क गर्ने नेपालीहरुको संख्या, तत्काल नेपाल फर्कन चाहने नेपालीहरुको संख्या, रोजगारी तथा अन्य आधारभूत आवश्यकता परिपूर्तिमा हाल नेपालीहरुलाई परेका समस्या तथा तत्काल चालिनुपर्ने कदमहरुको बारेमा परराष्ट्र मन्त्रालयमा जानकारी गराएकी थिइन्।

परराष्ट्र मन्त्री ज्ञवालीले बिदेशमा रही हाल नेपाल फर्कन पर्ने र चाहनेहरुलाई प्राथमिकीकरण गरी चरणबद्ध रुपमा नेपाल फर्काउने बिषयमा सरकारले बृहत् गृहकार्य गरिरहेकोले सोही अनुसार दूतावासलाई तयार रहन निर्देशन दिएका थिए।
प्रकाशन मिति–२०७७ साल बैशाख ३१ गते बुधवार ।